अरुण आकाश (एल.बी.प्रधान) युवा पुस्ताका साहित्य सर्जकहरुमा एक प्रतिनिधि नाम हो । हाल भोजपुरको हतुवागढी कर्मथलो रहेका कवि आकाश खासगरी गजलकारको रुपमा चिनिनुहुन्छ । कविता लेखनमा पनि उहाँको कलम चलेको देखिन्छ । वि.सं. २०३८ भदौ २२ गते हतुवागढी गाउँपालिका १, सल्ले, भोजपुरमा जन्मिनुभएका उहाँले स्कुले जीवनदेखि नै साहित्य सिर्जना शुरु गरिसक्नुभएको हो । कृतिका रुपमा उहाँका सिर्जनाहरु सार्वजनिक नभएपनि फुटकर गजल तथा कविता सिर्जनामा उहाँको निरन्तरता कायमै देखिन्छ । निकट भविष्यमा नै गजल र कविताहरुको सङ्ग्रह प्रकाशन गर्ने सोँच बनाउनुभएका उहाँले संयुक्त गजल सङ्ग्रह ‘गोहो’ को सहलेखन गर्नुभएको छ ।
पछिल्लो समय उहाँले मातृभाषा साहित्य लेखन पनि शुरु गर्नुभएको छ । उहाँको यो प्रयास भने अलि फरक छ । उहाँ नेवार मातृभाषी हुनुहुन्छ तर बान्तावा भाषामा कविता लेखन गर्नुहुन्छ । २०८१ मंसिर २३ र २४ गते भोजपुरको हतुवागढी सदरमुकाम घोडेटारमा आयोजित बान्तावा भाषाको मासिक पत्रिका बुङ्वाखाको २० औँ वार्षिकोत्सवको उद्घाटनका अवसरमा बान्तावा भाषाको कविता ‘पावाछाप’ वाचन गर्दै उहाँ बान्तावा मातृभाषा साहित्य सिर्जनामा सार्वजनिक हुनुभएको छ । उहाँको यो कविता प्रस्तुतिले कार्यक्रमलाई थप भव्य बनाएको थियो । सो अवसरमा उहाँले आफु माझ किरातको बान्तावा समुदाय विचमा जन्मे हुर्केकोले बान्तावा भाषा सहज लाग्ने र लेखनलाई निरन्तरता दिने बताउनुभएको थियो । उहाँको यो प्रस्तुतिलाई सामुदायिक सद्भाव र मातृभाषा साहित्यको उत्थान तथा जगेर्नाका सन्दर्भमा सबैले प्रशंसा गरेका थिए ।
उहाँले सो कार्यक्रममा प्रस्तुत गर्नुभएको बान्तावा भाषाको कविताको भिडियो क्लिप यहाँ प्रस्तुत गरेका छौँ ।
भिडियो साभार : सेवा नमस्ते युट्युब च्यानल
...........