हाम्रोबारे

बागियानको पृष्ठभूमि र अवधारणा

वि.सं. २०७२ असोज १ गते शुक्रबार बागियान साहित्यिक पत्रिकाको पहिलो अङ्क प्रकाशित भएको थियो । यो निरन्तर छ र अहिले २४ औँ अङ्क प्रकाशनको तयारीमा छ । लेखनमा पहिचानको विषयवस्तुलाई स्थापित गर्ने मुल ध्येयका साथ शुरु भएको यस प्रकाशनको अवधारणा ‘पहिचान साहित्यका लागि साहित्यिक पत्रकारिता’ हो । मौजुदा समय र परिवेशमा रहेका सबै जीव र निर्जिव वस्तुहरुको पहिचान हुन्छ । केवल महशुस गर्नुमा मात्र फरक हो । जस्तो कि निर्जिवले यसलाई महशुस गर्न सक्दैन । जीवमा पनि चेतनशील प्राणी भएको नाताले मानवले यो महशुस गरेको छ । मानवमा पनि जसको आफ्नो इतिहास, थातथलो र मौलिकता छ उसले बढि महशुस गरेको छ । त्यसो भन्दैमा पहिचान सरोकार राख्ने समुदायको मात्र होइन, सबैको साझा मुद्धा हो तर उसको महशुस गराइ बढि राजनैतिक चेतनाबाट प्रेरित भयो अथवा पहिचानको विषय बढि राजनैतिक भयो । राजनैतिक भएपछि स्वतः कित्ताको निर्माण भयो । कित्ता निर्माण हुनुवित्तिके आत्मसात र निषेध चरित्रको संरचना बन्यो । त्यसपछि नै सरल हुँदाहुँदै पनि पहिचानको विषय रुखो बन्दै जाने अवस्था बन्यो ।

साहित्य लेखन कोमल हुन्छ । त्यसैले यही विषयलाई साहित्य लेखनबाट उठान गर्दा सहज, प्रभावकारी र सम्प्रेषणीय हुन्छ भन्ने मान्यतामा टेकेर बागियानको प्रकाशन शुरु गरिएको हो । यसअर्थमा यो पहिचान साहित्य लेखन अभियानको एक रुप हो । यस अभियानमा अहिले बागियान साहित्यिक पत्रिकाको अनलाइन प्रकाशनको रुपमा बागियान डटकमलाई जोडेका छौँ । साहित्य लेखनभित्र पत्रकारिता पनि पर्दछ । तर पनि पत्रकारिताको स्वरुप अलि फरक, थप सशक्त र थप चलायमान हुन्छ । साहित्य लेखन अभियानमा बाँकी भएका वा हुन नसकेका लेखनहरुलाई पत्रकारिता मार्फत पुरा गरौँ र पहिचान लेखन अभियानलाई निरन्तरतासँगै निष्कर्षसम्म पु¥याऔँ भन्ने जिम्मेवारी बोध सहितको उत्कट अभिलाषाले बागियान डटकम शुरु गरेका हौँ । ‘पत्रकारिता पहिचानका लागि’ भन्ने अवधारणाका साथ शुरु गरिएको यो कर्म आधारभूत रुपमा पहिचानको लेखनप्रति निहित रहनेछ तर व्यवसायिकता पनि यसको चरित्र हुनेछ ।

पहिचान सबैको सरोकारको विषय हो, हुनुपर्छ । हामीले पहिचान लेखन गर्न खोजेको समाजमा कित्ताहरुको पर्खाल ठड्याउन होइन बरु भएका कित्ताहरुलाई सम्याउँदै समतामुलक समाज निर्माण गर्न हो किनभने जहाँ पहिचान स्थापित हुन्छ त्यो समाज नै समतामुलक समाज हो । यस सन्दर्भमा हाम्रा पाठक, शुभचिन्तक, सहयोगी, विज्ञापनदाता, सूचनादाता पनि आम नै हुनुहुनेछ । हामी आमपाठक समक्ष यस अभियानमा एकाकार हुन र समतामुलक समाजको निर्माणमा हातेमालो गर्न हार्दिक अपिल गर्दछौँ ।

२०८१ पुस २८, आइतबार, इटहरी

हाम्रो सम्पर्क

  • बागियान साहित्यिक पत्रिकाको अनलाइन प्रकाशन
    बागियान डटकम
  • सुनसरी, नेपाल
  • सु.जि.प्र.का.द.नं.: १६८/०७२/०७३
  • पान नं.: ६०६२०३०९८
  • सम्पर्क नं.: ९८५२०५६८०२, ९८०७७५६८०२
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक: श्रीशीशा राई
  • सम्पादक: N/A
  • बान्तावा भाषा संयोजक: N/A
  • फोटोपत्रकार: N/A