धरान, पुस २४ । प्रेस सेन्टर नेपाल १ नम्बर प्रदेश समितिको अधिवेशन आगामी माघ ११ र १२ गते विराटनगरमा आयोजना हुने भएको छ । 

समितिको मङ्गलबार विराटनगरमा सम्पन्न वृहत बैठकले सो निर्णय गरेको हो । समिति अध्यक्ष विनोद घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रिय समितिको सर्कुलर अनुसार प्रदेशका १४ ओटै जिल्लाहरुको सम्मेलन पश्चात प्रदेश अधिवेशन आयोजना गर्न लागेको हो । अध्यक्ष घिमिरेले माघ ५ सम्ममा जिल्ला सम्मेलनहरु सम्पन्न भईसक्ने जानकारी दिनुभएको थियो । 

जिल्लाहरुको सम्मेलनबाट प्रदेश र केन्द्रिय प्रतिनिधिहरुको टुङ्गो लागिसकेपछि प्रदेश र केन्द्रको अधिवेशन गर्ने केन्द्रिय समितिको निर्णय अनुसार अधिवेशन गर्न लागिएको हो । अधिवेशनमा प्रदेशका १४ वटै जिल्लाबाट विधान अनुसार १० सदस्य बराबर १ जनाका दरले प्रतिनिधि सहभागी हुनेछन् । प्रदेशभरिका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु, नेपाल पत्रकार महासँघको तिनै तहमा निर्वाचित पदाधिकारी तथा सदस्यहरु स्वतः प्रतिनिधि हुने व्यवस्था छ । अधिवेशनका लागि अध्यक्ष घिमिरेको संयोजकत्वमा व्यवस्थापन समिति र गणेश लम्साल, जयराम सुन्दास लगायत रहेको निर्वाचन समिति यसै बैठकले गठन गरेको छ । 

बैठकमा प्रमुख अतिथिका रुपमा केन्द्रिय उपाध्यक्ष विवेक गौतम, केन्द्रिय सचिवालय सदस्य दिपिन राई, उपमहासचिव राजन केडी, केन्द्रिय सदस्य तथा न्युनतम पारिश्रामिक निर्धारण समितिका सदस्य श्रीशीशा राई लगायतको उपस्थिती रहेको थियो । बैठकले नेपाल पत्रकार महासँघको सम्पन्न निर्वाचनको गम्भिर समिक्षा गरेको थियो । सम्पन्न निर्वाचनमा प्रेस सेन्टर नेपालले नतिजामा जित हासिल नगरे पनि प्राप्त मतका आधारमा विगतका निर्वाचनभन्दा राम्रो परिणाम प्राप्त भएको निष्कर्ष निकालिएको थियो । निर्वाचनमार्फत प्रेस सेन्टर नेपाल र यसको पहलकदमीप्रति मतदाता पत्रकारहरुको विश्वास र आशा देखिएको र यसलाई आगामी निर्वाचनसम्म निरन्तर कायम राख्नुपर्ने आवश्यकता रहेको बैठकका प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष विवेक गौतमले संश्लेषण राख्नुभएको थियो । 

अधिवेशनले संशोधित विधान अनुसार आगामी तीन वर्षका लागि २७ सदस्यिय १ नम्बर प्रदेश समिति चयन गर्नेछ । 

स्मरणीय छ, प्रेस सेन्टर नेपाल १ नम्बर प्रदेश समितिको गतसाल भोजपुरमा सम्पन्न प्रादेशिक भेलाले प्रदेशको नाम कोशी राखिएकोमा औपचारिक विरोध जनाउँदै पहिचानका आधारमा किरात प्रदेश नाम राखिनुपर्ने निर्णय गरिसकेको छ ।                     

..................