बान्तावा भाषाको मासिक पत्रिका ‘बुङ्वाखा’ (फुलबारी) प्रकाशनको दुई दशक पुरा भएको छ । विगत २० वर्षदेखि निरन्तर प्रकाशनरत यस पत्रिकाले बान्तावा भाषामा कविता, गीत, गजल, लेख, अन्तरवार्ता आदि प्रकाशन गरेर सामुदायिक, साँस्कृतिक, सामाजिक चेतना फैल्याउने कर्म गरिरहेको छ । यही २०८१ मंसिर २३ र २४ गते यस पत्रिकाले भोजपुर, हतुवागढी गाउँपालिका सदरमुकाम घोडेटारमा २० औँ वार्षिकोत्सव तथा बान्तावा साहित्य महोत्सव सम्पन्न गरेको छ । हालसम्मको प्रयास हेर्दा यस पत्रिकाले नेपालको मातृभाषा, पहिचान र मौलिकताको सिङ्गो आन्दोलनकै मार्गदर्शन गरिरहेको छ भन्न सकिन्छ । मातृभाषा आन्दोलनको इतिहास, वर्तमान र भविष्य नै बुङ्वाखा पत्रिकाले अगुवाई गरिरहेकोले यो पत्रिका नेपाली मातृभाषा साहित्यको कोशेढुङ्गा हो भन्दा अत्युक्ति नहोला ।

वार्षिकोत्सवसँगै बान्तावा भाषाका कविताको संस्थागत तथा निरन्तर लेखन र प्रकाशनको कमसेकम दुई दशक पुरा भएको छ ।

वार्षिकोत्सवसँगै बान्तावा भाषाका कविताको संस्थागत तथा निरन्तर लेखन र प्रकाशनको कमसेकम दुई दशक पुरा भएको छ । त्यसो त हालसम्म इतिहासको खोजबाट पाइए अनुसार अनौपचारिक रुपमा बान्तावा कविता लेखन ६८ वर्ष पहिले नै शुरु भएको पाइएको छ । कवितात्मक शैलीमा लेखिएको सबैभन्दा पुरानो रचना सेतुमान राई (वि.सं. १९७०–२०६७) को कवितालाई लिन सकिन्छ । भोजपुर आमचोक गाउँपालिका, थिदिङ्खा बोन्वा निवासी राईको वि.सं. २०१३ पुस–माघमा विद्योदय शिक्षक संघ भोजपुरबाट प्रकाशित ‘छाँगो’ मा प्रकाशित लघु कविता बान्तावा भाषाको लिखित रूपमा प्रकाशित सम्भवतः पहिलो रचना हो । (विप्लव ढकाल, ‘भोजपुरको वाङ्मय’बाट ।)

इतिहास निर्माण, क्रियाशिलता र नतिजा प्राप्तीको सन्दर्भमा यो अवधि पक्कै पनि एउटा युग हो । यति लामो निरन्तरता र क्रियाशिलताले अन्ततः के प्राप्त भयो, यसको दिशानिर्देश के हुनसक्छ, बान्तावा कविताहरुको पछिल्लो अवस्था के छ र के हुनुपर्छ आदि विषयहरुमा बहस गर्नुपर्ने बेला भईसकेको छ । यहाँ बुङ्वाखामा प्रकाशित र २० औँ राष्ट्रिय बान्तावा कविता महोत्सवमा वाचित कविताहरुका आधारमा बान्तावा कविता लेखनको अवस्थालाई विश्लेषण गर्ने जमर्को गरिएको छ ।

Ram walahang

विगतका कविताहरुसँग पछिल्ला कविताहरु तुलना गर्दा बान्तावा कविताहरुमा गुणात्मक सुधार भएको देखिन्छ । मात्रात्मक विकासमा केही गडबढी भएको हो कि किनभने यसअघिका महोत्सवमा ४ दर्जनसम्म कविता प्रतिस्पर्धी हुन्थे भने २० औँ महोत्सवमा आईपुग्दा सो सङ्ख्या २ दर्जन आसपासमा झरेको छ । जति लेखिएका छन् तिनमा मुलरुपमा कविताको ढाँचामा नै सुधार देखिन्छ । यसअघि ‘साकेला, माङ, भाषा आदिलाई विर्सन नहुने’ आदि जस्ता साँस्कृतिक र ‘अघि बढ्नुपर्छ’, ‘एक हुनुपर्छ’, ‘गाउँको माया गर्नुपर्छ’, ‘हामी पछि परेका छौँ’ आदि जस्ता नारावादी चेतका कविता धेरै लेखिने गरिएकामा अहिले समसामयिकता सहित गहन विषयहरुलाई पनि लेख्न थालिएको पाइन्छ । यसबाट विषयवस्तुमा पनि बान्तावा कविहरु सचेत हुँदै गएको पाइन्छ । विम्ब र प्रतिकहरुको प्रयोग बढेसँगै सुधार पनि देखिएकोले कवितामा कलात्मकताको विकास देख्न सकिन्छ । कविताको भाषागत सुधार पनि राम्रै पाइएको छ । समग्रमा हेर्दा बान्तावा कविताहरुमा कवित्व चेत वा कवितात्मकतामा प्रगति नै मान्न सकिन्छ ।

केही उदाहरणहरु हेरौँ–

...खास्को काचि मुमा छाङ सोनुङ

मुना सोन्मा, मुप्मा चोङमाचि लेनङ्ओ

चङखो चमा ङे लेनङओ

अङ यावाचि खाडा–खाडा तामालामाचिआ

देङदा ङे आइमिततारि अङका बाफुरा ।

– एस.बि.बान्तावा (अङका बाफुरा), बुङ्वाखा, चुङधि (पुस), २०७३


...आइमित ओ बुदालाम चिछे 

बुङवा ह्वात्नि खालाक खालाकओ 

लाम चि खाङमा लियाङ

खाउ खो लाम तङ्तुम खात्तुम् लो थेमिनखारिन ओ नै ।...

– दाताराम राजालिम (बुयाओ लाम), २० औँ बान्तावा राष्ट्रिय कविता महोत्सव–२०८१ मा प्रतियोगी

यद्धपि अपेक्षा अनुसार सुधार भने देखिदैन । पछिल्ला कविताहरुको अध्ययन गर्दा खासगरी कविताको गुणात्मक विकासमा कविहरुले थप साधना गर्नुपर्ने देखिन्छ । बान्तावा मात्र होइन, कुनैपनि मातृभाषाका कविताले कि त आफ्नै प्रवृत्ति र संस्कार निर्माण गर्न सक्नुपर्दछ कि त मौजुदा प्रवृत्तिसँग आफ्नो तादात्म्यता कायम गर्न सक्नुपर्दछ । बान्तावा कविताहरुले आफ्नै कवित्व र संस्कार निर्माण गर्न थप साधना गर्नुपर्ने देखिन्छ भने नेपाली साहित्यको मुलप्रवृत्ति भन्दा पृथक आफ्नै संसारमा विचरण गरिरहेको देखिन्छ ।

बान्तावा भाषा साहित्य समृद्ध हुनु बान्तावा भाषीहरुका लागि गौरवको विषय हुँदै हो किनभने यसले बान्तावा भाषीहरुको पहिचान बोकेको हुन्छ । तर यो बान्तावा भाषी समुदायका लागि मात्र सरोकारको विषय होइन । कुनैपनि समाजमा कुनैपनि भाषा, संस्कार, इतिहास, पहिचान आदि सामाजिक प्रणालीको अवयवका रुपमा रहेका हुन्छन् । जब कुनै अवयव कमजोर हुन्छ वा लोप हुन्छ भने त्यो प्रणाली नै रहँदैन र समाजमा यसको दीर्घकालिन असर पर्दछ । समाज इकोसिष्टम जस्तै हो । समाजकै वृहत रुप राष्ट्र हो । निश्चित समुदायका भाषाले एक महत्वपुर्ण अवयवका रुपमा राष्ट्रकै इकोसिष्टमलाई सञ्चालन गरिरहेका हुन्छन् । कुनैपनि भाषा लोप भयो भने यसको असर ढिलो चाँडो सामाजिक व्यवहारमा नै देखिन्छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार बान्तावा भाषा नेपालको कुल जनसङ्ख्याको ०.४७% (१,३८,००३ जना) ले बोल्ने भाषा हो । यसको संरक्षण र संवद्र्धन भएन भने यसको असर कालान्तरमा समाजको इकोसिष्टममा नै पर्दछ । यसले समाज नै विश्रृङ्खलित बन्ने अवस्था आउँछ । बान्तावा भाषाको जिवन्तताका लागि लेखन र कथन दुवै अपरिहार्य छ । त्यसैले बान्तावा भाषामा कविता लेखन र प्रस्तुति राष्ट्रको प्रणालीको संरक्षण र संवद्र्धनका लागि एक महत्वपुर्ण कार्य हो ।

जसरी व्यक्तिको उमेर र शरिरको विकाससँगै मानसिक विकास पनि जरुरी हुन्छ त्यसरी नै बान्तावा कविताले पनि समयसँगै कवितात्मकतालाई आत्मसात गर्दै जानु पर्दछ । यसले बान्तावा भाषालाई राष्ट्रको एक अनिवार्य भाषाको रुपमा थप विकास गराउन टेवा दिनेछ । साहित्यमा बान्तावा कविताको योगदान सुनिश्चित हुनेछ । नेपाली साहित्य थप समृद्ध बन्नेछ ।

विषयवस्तु र भाव

बान्तावा कविहरुले अहिलेसम्म आफ्नै वरिपरिका विषयवस्तुमा कविता लेखिरहेको देखिन्छ । आफ्नो भाषा, संस्कृति, भेषभुषा, माङ, उधौली–उभौली, गाउँघर, सोल्टि–सोल्टिनी, चेली–माइती, कोदोको जाँड, गोठाला–खेताला लगायतका विषय र सन्दर्भहरु नै कविताका वस्तु देखिन्छन् । यी कविताका विषयवस्तु अवस्य हुन् तर यी मात्र होइनन् । समय, परिवेश, समाज आदिमा आएको परिवर्तनसँगै विषयवस्तुमा फेरबदल आउँछ । दुई दशकसम्म उही विषयवस्तु र सन्दर्भमा कविताहरु लेखिरहनु भनेको रुमल्लिनु हो । बान्तावा कविहरुले यसभन्दा बाहिर पनि विषयवस्तुको संसार छ भन्ने बोध गर्नुपर्दछ । व्यापक, गम्भिर र जटिल विषयहरुलाई पनि आफ्नो कविताको वस्तु बनाउँदै जानुपर्ने अवस्था आएको छ । विषय छनौटमा दुरदृष्टि आवश्यक छ । राष्ट्रिय मात्र नभएर अन्तरराष्ट्रिय परिवेशमा आर्थिक, साँस्कृतिक, सामाजिक, ऐतिहासिक, राजनैतिक, शिक्षा, स्वास्थ्य, पर्यटन, समसामयिक लगायतका विषय र सन्दर्भहरु अब बान्तावा कविताका वस्तु हुनुपर्छ । 

कविता लेखन भनेको जिम्मेवारी हो । त्यसैले रहर, लहर वा समय व्यतित गर्नकै लागि कविता लेख्ने भन्ने कल्पना पनि गर्न सकिदैन । कुनैपनि जिम्मेवारी सदैव गहन हुन्छ । त्यो पुरा गर्दा समाज, राष्ट्र र मानव समुदायलाई केही न केही योगदान पुगीरहेकै हुन्छ । बान्तावा कविहरुले पनि कविता लेखन मार्फत अन्ततः समाज, राष्ट्र र मानव समुदायको परिवर्तन र विकासलाई नै केन्द्रिय उद्धेश्य तय गर्नुपर्ने हुन्छ । यसका लागि कविले आफ्नो कवितामा नविन विचार, परिवर्तन र सकारात्मक उर्जा लेख्न सक्नुपर्दछ जसले व्यक्ति र समाजको तहबाट नै अग्रगमनतर्फ निर्देशित हुने क्रम शुरु होस् । विषयवस्तु सामान्य वा गहन जे भएपनि आफ्नो कवितात्मकता मार्फत कविले मौजुदा परिवेशलाई विचार, सोँच र चिन्तन दिनसक्छ । बान्तावा कविले यो जिम्मेवारी महशुस गरेर कविता लेख्नुपर्दछ । 

यसअघि उल्लेख गरिएका मौलिकता, थातथलो आदिका विषयहरु चै लेख्न हुँदैन वा पर्दैन भन्ने कदापि होइन । ती विषयवस्तुहरुको पनि महत्व आफ्नै ठाउँमा छ । यी विषयहरुलाई वृहत महत्वका विषयहरुसँग तादात्म्यता राखेर पनि लेख्न सकिन्छ । यो कविहरुको सिप र क्षमतामा भर पर्छ । आफ्ना विषयवस्तुहरु आफैले नलेखे कसले लेख्ने ? तर यही अल्झिरहने हो भने कवितामा गुणात्मक फड्को मार्न सकिदैन । यिनीहरुलाई आधार मानेर अब राष्ट्रिय तथा अन्तरराष्ट्रिय समसामयिक गहन विषयहरुलाई पनि आफ्नो कविताको वस्तु बनाउँदै लैजानुपर्दछ ।         

विषयवस्तु आवरण हो भने भाव छोपिएको भाग वा गुदी हो । विषयवस्तु जहिल्यै सतहमा हुन्छ र यसलाई स्पष्ट, पठनिय, भावात्मक बनाउने काम भावले गर्दछ । विषयवस्तु ढुङ्गा जस्तो कठोर हुन्छ भने यसलाई नौनी जस्तो नरम बनाउने काम भावले गर्दछ । कविले त्यो बनाउन सक्नुपर्दछ । यसका लागि शब्दहरुको व्यवस्थित प्रयोग अथवा संयोजन नै सबैथोक हो । जति नै जटिल विषयवस्तु भएपनि उपयुक्त, न्युनतम, साङ्केतिक, आलङ्कारिक, अप्रत्यक्ष, सुन्दर, व्यङ्ग्यात्मक, भावपरक, कलात्मक शब्दहरुको प्रयोग गरेर लेख्यो भने कविता बन्छ । धेरै वटा शब्दहरुको सट्टा एक शब्द, त्यसमा पनि उपयुक्त र पाठकको मनलाई चसक्कै छुने शब्दको प्रयोग गर्नु नै कलात्मक शब्द संयोजन हो । कवितामा शब्द संयोजनको ठुलो महत्व हुन्छ । यसले नै कवितामा भाव पैदा गर्दछ । भावले विषयवस्तुलाई गहिरो र रोचक बनाउँदछ ।  

यहीनेर विम्ब र प्रतिकको कुरा आउँछ । कवितामा विषयवस्तुलाई साङ्केतिक, आलङ्कारिक, अप्रत्यक्ष र सुन्दर ढङ्गले उपयुक्त, न्युनतम, व्यङ्ग्यात्मक, भावपरक, कलात्मक शब्दहरुद्धारा लिखितरुपमा व्यक्त गर्दा पाठकको मनमा कविले एक किसिमको अमुर्त आकृति निर्माण गर्न सक्नुपर्दछ । त्यही नै विम्ब हो । कविता पठनको क्रममा पाठकलाई यस्तो आकृति तर्फ विचरण गराउन सक्ने कविता नै उत्कृष्ट हो । यसैगरी कविले विषयवस्तुलाई शब्दहरुको उत्कृष्ट प्रयोगद्धारा अन्य कुनै वस्तु, ध्वनि, चित्र, चिन्ह आदिसँग तुलनात्मक कल्पना गरी आकर्षक र रोचक रुपमा व्यक्त गर्न सक्नुपर्दछ । त्यो नै प्रतिक हो । अन्ततः विम्ब र प्रतिकको प्रयोग पनि शब्दहरुको चामत्कारिक वा कलात्मक संयोजन नै हो । फरक यति हो कि बान्तावा कविताहरुमा प्रयोग हुने विम्ब र प्रतिकहरु खासगरी मौलिकता, परम्परा, संस्कृति आदिबाट प्रभावित हुन सक्छन् । त्यसैले अन्य भाषाका कविता भन्दा फरक हुन सक्छन् ।  

भाषा र शैली

कुनैपनि भाषाको प्रयोग गर्दा भाषा विज्ञान, पाठक वा सम्बन्धित भाषी समुदायको एउटै अपेक्षा हुन्छ– यसको शुद्धता । बान्तावा भाषामा कवितामा जसले जे लेखेपनि व्याकरणिक हिसाबले यो शुद्ध लेखिनुपर्छ । भाषामा लेख्ने वा बचाउने आदि नाममा भाषाको हुर्मत लिइनुहुँदैन । भाषिक शुद्धता नै उत्कृष्ट लेखनको आधार हो । बान्तावा भाषामा लेखिएका पछिल्लो कविताहरुमा अझैपनि शुद्धतामा समस्या छ । तर यो अस्वाभाविक होइन किनभने एक त बान्तावा भाषा खस नेपाली भाषाको गहिरो प्रभाव अझ भनौँ अतिक्रमणबाट अझै आक्रान्त छ । भर्खर त बान्तावा भाषाको पनि लेख्य रुपले औपचारिकता र लहर प्राप्त गरेको छ । अर्को, बान्तावा भाषाको शुद्धरुपबारे दिग्दर्शनको काम भर्खर शुरु भएको छ । यदि लेखकहरुले मिहनेत गर्ने र चासो राख्ने हो भने केही वर्षभित्रै बान्तावा भाषाको शुद्ध लेख्य रुप पढ्न पाइनेमा शङ्का छैन । खस नेपाली भाषाको सिधा प्रभावले बोल्यमा मात्र होइन लेख्य रुपमा समेत खस नेपाली भाषाकै शब्दहरु टुप्लुक्क आईपुग्ने समस्या अझैपनि छ । तर यसमा सर्जकहरुले चिन्ता होइन चिन्तन गर्नुपर्ने अवस्था छ किनभने भर्खरैमात्र बान्तावा शब्दकोश तथा व्याकरण निर्माण समितिले बान्तावा शब्दकोश प्रकाशित गरिसकेको छ । प्रा.डा. नोबल किशोर राई, पदम कुमार राई र निराजन राईको सम्पादनमा प्रकाशित कुल ६ सय ९२ पृष्ठको यो शब्दकोशमा कुल १४ हजार ९३ बान्तावा शब्दहरुको शुद्ध लेख्य रुपसँगै नेपाली र अङ्ग्रेजी अर्थ दिइएको छ । अङ्ग्रेजी शब्दहरुको बान्तावा भाषामा अर्थ पनि दिइएकोले नेपाली र अङ्ग्रेजी भाषीहरुका लागि पनि उपयोगी शब्दकोश बनेको छ । बान्तावा भाषामा लेख्न चाहने जो कोहीले पनि यसको उचित प्रयोग गरेमा भाषिक शुद्धतामा अमुल्य दिग्दर्शन मिल्नेछ । बान्तावा भाषाका लेख्य नियम, निर्देशन, व्याकरण सम्बन्धि सामाग्रीहरु पनि प्रकाशित हुँदै आएकाले सर्जकहरुलाई अब धेरै नै सजिलो भएको छ । मात्र गहन चासो, खोज र अध्ययनको आवश्यकता छ ।

बान्तावा कविता कस्तो हुन्छ वा कसरी लेख्ने भन्ने अर्को बहसको विषय छदैछ । अहिलेसम्म खस नेपाली भाषामा लेखिएका पद्य र गद्य दुई किसिमका कविताहरुले हाम्रो मानसपटलमा गहिरो छाप पारेकाछन् । बान्तावा कविताहरु पनि यही शैलीमा अघि बढेका छन् । पद्यमै भनेर छन्दको नाम सहित नलेखिए पनि अन्त्यानुप्रास मिलेका कतिपय कविताहरु देखिएकाले तिनलाई कुनै लय वा छन्द अन्तर्गत राख्न सकिन्छ । यसबाहेक धेरैजसो कविताहरु गद्य शैलीमै छन् । हाललाई चलिआएको कविता लेखन शैलीलाई नै बान्तावा कविले अनुसरण गर्दा धेरै असमञ्जस्यता नहोला । तर महत्वपुर्ण कुरा, बान्तावा भाषाको कविता मौजुदा शैलीभन्दा पृथक पनि हुनसक्छ । गद्य वा पद्य बाहेक बान्तावा कविताको छुट्टै शैली निर्माण गर्न पनि सकिन्छ । यो फरक शैली बान्तावा कविहरुले नै आविष्कार गर्नुपर्ने अबको आवश्यकता र अपेक्षा हो । 

मौलिक सौन्दर्यको प्रयोग

बान्तावा कवितामा विम्ब र प्रतिकहरु अन्य भाषाका कविता भन्दा फरक, धेरै र मौलिक हुनसक्छन् भन्ने कुरा उल्लेखित छ । कविताको सौन्दर्य विम्ब र प्रतिकले नै उद्बोधन गर्दछन् । तर बान्तावा कविताका हकमा किरात सौन्दर्य आकर्षित हुन्छ किनभने बान्तावा समुदाय किरात अन्तर्गत पर्दछ । किरात नेपालको इतिहासमा विशिष्ट भूमिपुत्र जाति हो । यसका आफ्नै इतिहास, संस्कार, संस्कृति, परम्परा, भाषा, लिपी, भेषभुषा छन् । मौलिकता नै किरातको पहिचान हो, सम्पत्ति हो । किरात समुदायमा कुनैपनि व्यक्तिले जन्मदेखि मृत्युसम्म साँस्कृतिक, सामाजिक, आर्थिक आदि हिसाबले जे जे गर्नुपर्ने हो, त्यो अन्य समुदायभन्दा फरक र विशिष्ट छ । यी प्रक्रिया वा विधिहरु पुर्खा (माङ) हरुले पुस्तान्तरणसँगै हस्तान्तरण गरेर गएकाछन् । किरात समुदायको वर्तमान पिँढी पुर्खाहरुको त्यो परम्पराबाट आधुनिक रुपले दीक्षित हुँदै आएको छ । आजको पिँढीले यसलाई मुन्द्युमको रुपमा ग्रहण गरेको छ । 

मुन्द्युम किरात समुदायको जीवनदर्शन हो । यसमा धेरै भन्दा धेरै मिथकहरु सङ्ग्रहित छन् । व्यवहारिक हिसाबले हेर्ने हो भने किरात समुदायले प्रयोग गर्ने धारा, बाटो, हाटबजार आदिको आफ्नै साँस्कृतिक किम्बदन्तीहरु छन् । ठाउँको नाम, भीर, ढुङ्गा आदिमा समेत मिथकहरु जोडिएकाछन् । चुल्हो, चिण्डो, केराको पात, अदुवा लगायत दैनिक जीवनमा आवश्यक पर्ने वस्तुहरुको उत्पति वा प्रयोगको महिमा अत्यन्तै रोचक, रहस्यमय र ऐतिहासिक छन् । यी सन्दर्भ र प्रसङ्गहरु अन्य समुदायमा नभएकाले बान्तावा कविहरुले यिनलाई सम्पत्तिको रुपमा ग्रहण गर्न सक्नुपर्दछ । कवितामा यस्ता सौन्दर्यको समेत प्रयोग गरेमा बान्तावा बान्कीको उत्कृष्ट कविता सिर्जना हुनेछ । बान्तावा कविताको विश्वव्यापी स्तर र गुणात्मकताको खोजी गर्न भौतारिनुपर्नेछैन । 

खस नेपाली साहित्यमा आदिकवि मानिएको भानुभक्त आचार्यले रामायण आफैले लेखेका थिएनन् । संस्कृत भाषामा बाल्मिकीले लेखेको कृति उनले खस नेपाली भाषामा अनुवाद गरेका हुन् । अहिले भानुभक्तको रामायणलाई नेपाली कविता साहित्यको मियो मान्ने ठुलो पङ्क्ति छ । त्यो संस्कृत भाषा बान्तावा भाषा किन हुन सक्दैन ? संस्कृतमा लेखिएको रामायण र कवि बाल्मिकी बान्तावा भाषामा लेखिएको कुनै कविता र कोही बान्तावा कवि किन हुन सक्दैन ? संस्कृत भाषाका कविता मात्रै किन ? यदि उत्कृष्ट लेखिए भने बान्तावा कविताहरु पनि नेपाली साहित्यको कोशेढुङ्गा सावित हुन अवश्य सक्नेछन् । बुझ्न गाह्रो भयो भने खस नेपाली, अङ्ग्रेजी वा अन्य भाषामा अनुवाद गरेरै पढ्नुपर्ने अवस्था बन्नेछ । त्यसैले बान्तावा कविहरुले कालान्तरमा कविता सर्वप्रिय होस्, अनुवाद गरी गरी पढियोस् र अन्तरराष्ट्रिय स्तरको कविता बनोस् भन्ने लक्ष्य राखेर निरन्तर सिर्जना गर्नुपर्ने देखिन्छ । 

लेखनमा निरन्तरता

बान्तावा भाषा मात्र होइन, कुनैपनि भाषाको सिर्जनामा निरन्तरता गुणात्मक विकासका लागि महत्वपुर्ण कुरा हो । कविताको सन्दर्भमा पनि त्यही हो । जति लेख्दै गयो उति अभ्यास हुँदै जाने र लेखन खारिँदै जाने हुन्छ । शब्द संयोजन र शब्दहरुको कलात्मक प्रयोगमा सुधार हुँदै जान्छ । साहित्य लेखन एक तपस्या हो । साधना हो । जति निरन्तर लेख्दै गयो, उति नै परिष्कृत रचनाहरु सिर्जना हुँदै जान्छन् । कविताका प्लट र कलात्मक तथा भावात्मक शब्दहरु दिमागमा स्वतः फुर्दै जाने हुन्छ । 

बान्तावा कविता लेखनको सन्दर्भमा सर्जकहरुको निरन्तरता निराशाजनक छ । केहीमात्र सर्जकहरुले नियमित आफ्नो कलम चलाईरहेको देखिन्छ । बुङ्वाखा प्रकाशनको शुरुवाती चरणका सर्जकहरुका सिर्जना अहिले प्रकाशित भएको देखिदैन । आजको दिनसम्म बान्तावा भाषाका कविहरुको ठुलै सङ्ख्या जम्मा भईसक्नुपर्ने हो । सर्जकहरुलाई उचित प्रोत्साहन वा पुरस्कारका लागि बुङ्वाखा मासिकले भरमग्दुर प्रयास पनि गरिरहेकै छ । यसका लागि विभिन्न व्यक्ति वा संस्थाहरु बुङ्वाखाको अभियानसँग निरन्तर एकाकार छन् । जब कि सर्जकलाई प्रेरित गर्ने जिम्मेवारी राज्यको हो । तर पनि सर्जकको सङया बढ्नुको साटो घट्दै गएको छ । निरन्तर सिर्जना भएन भने बान्तावा भाषा र साहित्यको भविष्य सङ्कटमा पर्न सक्छ । 

यसो भन्दैमा निराश भइहाल्नुपर्ने अवस्था भने छैन किनभने बान्तावा कविता लेखनमा क्रमशः नयाँ सर्जकहरु पनि देखिदैछन् । गैर बान्तावाभाषी सर्जकहरु समेत बान्तावा भाषाको कविता लेखनमा आकर्षित हुँदै गएका छन् । यो अत्यन्तै उत्साहजनक र सुन्दर पक्ष हो । २० औँ बान्तावा साहित्य महोत्सवमा कवि तथा गजलकार एल.बि.प्रधान (अरुण आकाश) ले आफु नेवार भाषी भएपनि बान्तावा भाषामा कविता वाचन गर्नुभएको थियो । उहाँको वाचनमा बान्तावा कविताको मनमोहक झङ्कार सुनिएको थियो । उहाँको प्रस्तुतिले महोत्सवको भव्यता थप बढेको थियो । यसका लागि उहाँलाई आयोजकले सम्मान समेत गरेको थियो । 

बान्तावा कविता सिर्जना निरन्तर रहोस्, हामी सबैको यही अपेक्षा छ ।

स्रोत सामाग्री

१) Dristikon : A Multidisciplinary Journal (nepjol.info) : जनगणना २०६८ र २०७८ मा नेपालका भाषाहरूको पारिवारिक अवस्था– दीपकप्रसाद न्यौपाने, नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय, नेपाल

२) बान्तावा शब्दकोश (२०८०), सम्पादक– प्रा.डा. नोबल किशोर राई, पदम कुमार राई, निराजन राई, बान्तावा शब्दकोश तथा व्याकरण निर्माण समिति

३) बुङ्वाखा, चुङधि (पुस), २०७३– सम्पादक पदम राई 

४) बान्तावा कविता लेखनको अवस्था र अपेक्षा (श्रीशीशा राई, बुङ्वाखा मासिक २०७९, माघ) : सम्पादक पदम राई

५) विकीपिडिया

(सम्पादक, बागियान साहित्यिक पत्रिका, बागियान डटकम)

२०८१ पुस ९ गते

तरहरा, सुनसरी