धरान, पुस २६ । प्रेस सेन्टर नेपाल सुनसरीको शुक्रबार सम्पन्न पाँचौ जिल्ला सम्मेलनले पुनः तीर्थ कार्कीलाई अध्यक्ष चयन गरेको छ । यसअघि पनि अध्यक्ष रहेका कार्कीलाई आगामी तीन वर्षका लागि अध्यक्ष चयन गरेको हो ।
धरानमा सम्पन्न अधिवेशनले ९ सदस्यिय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षद्धयमा दिलबहादुर राई र लेखनाथ दङ्गाल, सचिवमा विनोद विश्वकर्मा, सहसचिवद्धयमा रश्मी प्रधान र सुबास खत्री, कोषाध्यक्षमा गणेश तिम्सिना चयन भएकाछन् । सदस्यमा अनिश बस्नेत र सुमित थापा चयन भएकाछन् ।
संगठनका केन्द्रिय उपाध्यक्ष विवेक गौतमको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा अध्यक्ष कार्कीले साँगठानिक तथा आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । अधिवेशनले पत्रकारितासँग सम्बन्धित १२ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । प्रस्तावमा धरान लगायत विभिन्न ठाउँमा जनप्रतिनिधिहरुबाट नै श्रमजीवी पत्रकारहरुमाथि धाकधम्की दिने र प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी भइरहेको गतिविधिको विरोध गर्दै पत्रकारहरुको भौतिक तथा प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्ने लगायत छन् ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, संगठनका उपमहासचिव राजनक केडी, न्युनतम पारिश्रामिक निर्धारण समितिका सदस्य श्रीशीशा राई, नेपाल पत्रकार महासँघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, प्रेस चौतारी सुनसरीका अध्यक्ष शुभद्रा प्याकुरेल, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुब ढकाल, संगठनका प्रदेश उपाध्यक्ष राजन समीप राई लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका तर्फबाट नेपाल पत्रकार महासँघ सुनसरी कार्यसमितिमा निर्वाचित विनोद विश्वकर्मा र प्रदेश परिषद सदस्यमा निर्वाचित धनकुमार राई (मिलन) लाई सम्मान गरिएको थियो ।
संगठनले केन्द्रिय समितिको सर्कुलर अनुसार हाल जिल्ला अधिवेशनहरु सम्पन्न हुने क्रममा छन् । यही माघ ११ र १२ गते १ नम्बर प्रदेश समितिको अधिवेशन विराटनगरमा हुँदैछ भने केन्द्रिय अधिवेशन माघ १५ गते हुँदैछ ।
..................