धरान, पुस २६ । आदिवासी जनजाति पत्रकार महासँघ (फोनिज) सुनसरीको पाँचौ अधिवेशन अन्तर्गत पुस २६ गते सम्पन्न भएको भनिएको निर्वाचनको बैधानिकता माथि प्रश्न उठेको छ ।
निर्वाचनमा सहभागी मतदाताहरुको सङ्ख्याकै बैधानिकता माथि प्रश्न उठेको हो । फोनिजको विधान २०७२ (पहिलो संशोधन २०७३) को परिच्छेद ५ को दफा १९ को उपदफा १ मा ‘कुल सदस्य सङ्ख्याको ६० प्रतिशत साधारण सदस्यहरु उपस्थित नभइ साधारणसभाको कारवाही हुनेछैन’ भन्ने प्रावधान रहेको छ । जिल्ला अधिवेशनका सन्दर्भमा विधानमा गणपुरक सङ्ख्याको कुनै प्रावधान नराखिएकोले यही प्रावधानलाई नै अधिवेशनका सन्दर्भमा पनि स्वतः प्रावधानको रुपमा व्यवस्था गरिएको देखिन्छ तर शुक्रबार सम्पन्न भएको भनिएको अध्यक्ष पदको निर्वाचनमा कुल ११६ सदस्य मध्ये ४९ जना सदस्यले मात्र मतदान गरेको पाइएको छ ।
यस अनुसार निर्वाचनमा ४२.२४ प्रतिशत सदस्यले मात्र सहभागीता जनाएको देखिन्छ । यो उपस्थिती विधान अनुसार गणपुरक सङ्ख्या होइन । निर्वाचन समितिले निर्वाचन सम्पन्न भएको दावी गर्दै कुल ४९ मत खसेकोमा ४६ मत प्राप्त गरी अध्यक्ष पदमा सुनिल चौधरी निर्वाचित भएको घोषणा गरेको छ । जम्मा दुई जना प्रत्यासी मध्ये भोला श्रेष्ठले २ मत र बाँकी एक मत बदर भएको निर्वाचन समितिले घोषणा गरेको थियो । विधान अनुसार निर्वाचन समितिले गरेको घोषणा अबैधानिक देखिएकोले उक्त निर्वाचन खारेज गर्नुपर्ने आवाज उठेको छ ।
सदस्यता वितरण निर्वाचन समितिबाट, अवैधानिक सदस्य नै निर्वाचित घोषित
सदस्यता थप र नविकरणको जिम्मा पाएको अधिवेशन आयोजक समितिले तोकेको समयावधिभित्र दर्ता भएका जम्मा १ सय १४ जना सदस्यहरुको लिस्ट निर्वाचन समितिलाई बुझाएको थियो । तर निर्वाचन समितिले आफ्नो अधिकारक्षेत्र र बैधानिक व्यवस्था मिच्दै अधिवेशन स्थलबाट नै दुई जना सदस्य थप गरी सदस्य सङ्ख्या १ सय १६ पु¥याएको थियो । यसरी अवैधानिक तवरले सदस्यता पाएका सचिन राई फोनिज सुनसरीको कार्यसमितिमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले घोषणा नै गरेको छ ।
यसअघि नविन गुरुङ नेतृत्वको जिल्ला कार्यसमितिले काम गर्न नसकेपछि १ नम्बर प्रदेश अध्यक्ष सन्तबीर लामाको उपस्थितीमा धरानमा सम्पन्न बैठकले उक्त समितिलाई निष्क्रिय बनाई सुनसरीका अग्रज पत्रकार महेश श्रेष्ठको संयोजकत्वमा अधिवेशन आयोजक समिति गठन गरेको थियो । उक्त समितिलाई नै सदस्यताको टुङ्गो लगाउने र अधिवेशन सम्पन्न गर्ने अधिकार दिइएको थियो । तर अधिकार प्राप्त आयोजक समितिको निर्णय उल्ट्याउँदै निर्वाचन समितिले अधिवेशन स्थलमै सदस्यता वितरण गरेको थियो ।
निर्वाचन समिति नै अवैधानिक
फोनिजको विधान २०७२ (पहिलो संशोधन २०७३) को परिच्छेद ७ को दफा २४ को उपदफा १ मा ‘कार्य समितिको निर्वाचन प्रयोजनका लागि बढीमा ३ जनाको एक निर्वाचन समिति कार्य समितिको सहमतिद्वारा गठन गरिनेछ ।’ भन्ने व्यवस्था गरिएको छ । तर निर्वाचन संयोजक सन्तबीर लामा, निर्वाचन अधिकृत सुकदेव चौधरी, सदस्यहरु दिपिन राई, भोजराज श्रेष्ठ र प्रदिप चौधरी गरी ५ सदस्यिय निर्वाचन समितिको घोषणा गरी निर्वाचन प्रक्रिया अघि बढाएको थियो । विधानमा बढिमा ३ जना भनिएको छ तर यो व्यवस्थालाई लत्याउँदै निर्वाचन समिति सदस्य सङ्ख्या ५ पु¥याइएको थियो । विधानमा ‘कार्यसमितिको सहमतिमा निर्वाचन समिति गठन गरिनेछ’ भन्ने व्यवस्था भएपनि कार्यसमिति सरह अधिकार पाएको अधिवेशन आयोजक समितिसँग कुनै छलफल र औपचारिक निर्णय समेत नगरी आफ्नै हिसाबले निर्वाचन समिति गठन गरिएको आयोजक समिति संयोजक महेश श्रेष्ठले बताउनुभयो । अधिवेशनका सन्दर्भमा निर्वाचन समितिका कामकारवाही अवैधानिक, अपरिपक्व र लापरवाह प्रकारको भएको उहाँको भनाई थियो ।
सुनिल चौधरीलाई अध्यक्ष बनाएरै छाड्ने निर्वाचन समितिको नियत
निर्वाचन प्रक्रियाका क्रममा थारु पत्रकार संघका तर्फबाट सुनिल चौधरीको उम्मेदवारी परेपछि यसअघि पनि थारु समुदायबाट नेतृत्व भईसकेकोले उनको उम्मेदवारी फिर्ता गराउन माग भएको थियो । तर मागका सम्बन्धमा निर्वाचन समितिले गम्भिरता देखाउनुको सट्टा आधा आधा कार्यकालको प्रस्ताव गरेको थियो । तत्कालै नेवा पत्रकार राष्ट्रिय दबुले एक विज्ञप्ति प्रकाशित गरी फोनिजको आवद्धता त्यागेको घोषणा गरेको थियो । विज्ञप्ति प्रकाशित गरेपछि दबुले अधिवेशन स्थल छाडेको थियो । तर निर्वाचन समितिले भने भोला श्रेष्ठको उम्मेदवारी फिर्ता हुने वा नहुने बारे छलफल समेत नगराई उम्मेदवारी कायमै राखी निर्वाचन गराउने र सुनिल चौधरीलाई निर्वाचित अध्यक्ष घोषणा गराएरै छाड्ने तर्फ उद्धत रहेको देखियो ।
दबुले आफ्नो विज्ञप्तिमा राजनैतिक चलखेल र षड्यन्त्रका आधारमा अध्यक्ष पदमा निर्वाचन गराउन र एकल जाति विशेषको नेतृत्व कायम गराउन खोजिएको दाबी गरेको थियो । अधिवेशन स्थलमा नै सुनिल चौधरी आदिवासी जनजाति वा थारु भएर नभई अमुक राजनैतिक दलको कार्यकर्ताको रुपमा उपल्लो नेताको प्रत्यक्ष निर्देशनमा अध्यक्षको उम्मेदवार बनेको र निर्वाचन समितिले यसमा सहयोग गरेको चर्चा चलेको थियो । अन्ततः निर्वाचन समितिले निर्वाचितहरुको नामावली प्रकाशित गरी आफ्नो उद्धेश्य पुरा गरेको देखिएको छ ।
तर निर्वाचन समितिले भने भोला श्रेष्ठको उम्मेदवारी फिर्ता हुने वा नहुने बारे छलफल समेत नगराई उम्मेदवारी कायमै राखी निर्वाचन गराउने र सुनिल चौधरीलाई निर्वाचित अध्यक्ष घोषणा गराएरै छाड्ने तर्फ उद्धत रहेको देखियो ।
निर्वाचन कार्यक्रम सञ्चालक नै केन्द्रिय परिषदमा निर्वाचित
प्रकाशित नामावलीमा कार्यसमितिको सहसचिवमा निर्विरोध निर्वाचित भनिएकी रश्मी प्रधान नेवा पत्रकार राष्ट्रिय दबु सुनसरीकी सचिव हुन् जसले यसअघि विज्ञप्ति मार्फत फोनिजसँगको आवद्धता त्यागीसकेकी थिईन् । यसैगरी महेश श्रेष्ठ, सोहन श्रेष्ठ र भोजराज श्रेष्ठले पनि विज्ञप्तिमा हस्ताक्षर गर्दै आवद्धता त्यागेको घोषणा गरिसकेको थिए । तर उनीहरुलाई नै निर्वाचित भनि निर्वाचन समितिले परिणाम घोषणा गरेको छ ।
आश्चर्यको कुरा त, निर्वाचन समितिमा कार्यक्रम सञ्चालकको रुपमा सक्रियतापुर्वक खटेका भोजराज श्रेष्ठलाई पनि केन्द्रिय परिषदमा निर्वाचित भनि घोषणा गरिएको छ । निर्वाचन समितिमै रहेर उनले कसरी कुन प्रावधानमा टेकेर उम्मेदवारी दर्ता गराए भन्ने कुरा रहस्यमय छ ।
यद्धपि उहाँले शुक्रबार नै आफ्नो फेसबुक पेजमा एक विज्ञप्ति प्रकाशित गरी दलियकरणको विरोध गर्दै फोनिजको सदस्यता परित्याग गरेको घोषणा गर्नुभएको छ । उहाँ फोनिजको १ नं. प्रदेश सल्लाहकार हुनुहुन्थ्यो । विज्ञप्तिमा भनिएको छ– ‘नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरी शाखामा समावेशी, समतामूलक मुद्दालाई पाखा लगाउने र दलीयकरणको जुन प्रपञ्च रचियो त्यसको घोर भत्र्सना गर्दै आजकै मितिदेखि लागू हुनेगरी साधारण सदस्य परित्याग गरेको घोषणा गर्दछु । अब उप्रान्त म कुनै पदीय जिम्मेवारीमा समेत नरहेको र नरहनेसमेत घोषणा गर्दछु ।’
................