धरान, पुस २३ । सुनसरीमा क्रियाशिल क्रान्तिकारी तथा श्रमजीवी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल पाँचौ जिल्ला सम्मेलन सम्पन्न गर्न जुटेको छ । 
संगठनका केन्द्रिय उपमहासचिव राजन केडीको उपस्थितीमा संगठनका जिल्ला अध्यक्ष तीर्थ कार्कीको अध्यक्षतामा धरानमा शुक्रबार सम्पन्न भेलाले जिल्ला सम्मेलन यही पुस २६ गते धरानमा सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकमा जिल्लामा क्रियाशिल संगठनका केन्द्र, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती थियो । बैठकले अध्यक्ष कार्कीको अध्यक्षतामा २३ सदस्यिय सुनसरी जिल्ला सम्मेलन आयोजक समिति र अधिवक्ता विदुर महतको संयोजकत्वमा ३ सदस्यिय निर्वाचन समिति गठन गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 
बैठक पछि एक सूचना जारी गर्दै अध्यक्ष कार्कीले सम्मेलन पुस २६ गते शुक्रबार विहान ११ बजे धरान ८, बरगाछि स्थित शहिद स्मृति मा.वि.को सभाकक्षमा हुने जानकारी दिनुभएको छ । 
बैठकले नेपाल पत्रकार महासँघ हालै सम्पन्न निर्वाचनका बारे समिक्षा पनि गरेको थियो । सम्पन्न निर्वाचनमा संगठनको पहलमा बनेको साझा गठबन्धनले अपेक्षाकृत जित हासिल नगरेपनि सम्मानजनक मत पाएको र उक्त मत नेपाल पत्रकार महासँघमा विजयी संगठनहरुले नजरअन्दाज गर्न नसक्ने हैसियतको रहेको समिक्षा गरिएको थियो । सम्पन्न निर्वाचनमा प्रेस सेन्टर नेपालको पहलमा बनेको गठबन्धनका अध्यक्ष उम्मेदवार गणेश निरौला १३ मत, उपाध्यक्षका उम्मेदवार गोविन्द बस्नेत ७ मत र सचिव पदका उम्मेदवार तीर्थ कार्की ६ मतले मात्र पराजित हुनुपरेको थियो । बैठकले अमुल्य र सम्मानजनक मत दिने जिल्लाका मतदाता पत्रकारहरुलाई हार्दिक धन्यवाद ज्ञापन समेत गरेको थियो । 
जिल्लाका दुई ठुला संगठन प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको गठबन्धनका बावजुद आफ्ना उम्मेदवारहरुले यति धेरै मत पाउनु अर्थपुर्ण रहेको र यसले आगामी नेपाल पत्रकार महासँघ सहकार्यको शैलीमा अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको संगठनका केन्द्रिय उपमहासचिव राजन केडीले बैठकमा धारणा राख्नुभएको थियो । नेपाल पत्रकार महासँघले आगामी दिनमा संगठनलाई गर्ने व्यवहार र अवलम्बन गर्ने कार्यशैलीका आधारमा संगठन अघि बढ्नुपर्ने बारे पनि बैठकमा छलफल भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 
आसन्न सम्मेलनमा साधारण सदस्यको तहबाट समेत निर्वाचनबारे छलफल हुने र आगामी दिनका रणनिति तय गरिने उहाँले बताउनुभयो । 
आसन्न सम्मेलनले आगामी तीनवर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । प्रेस सेन्टर नेपाल केन्द्रिय समितिले फागुन महिनाभित्रमा केन्द्रिय अधिवेशन सम्पन्न गर्ने गरी तयारी गरिरहेको छ । यसै अनुरुप सुनसरी जिल्लामा पनि सम्मेलन आयोजना गर्न लागिएको हो ।                    
===================