कविता
यहि पुरानो चौतारीमा
अतितका सम्बन्धहरु
बल्झाउन आइपुग्छु हरेक साँझ म
र हेर्छु–चखेवा जोडी
प्यार बसेको हाँगा
विश्वासको लहरा समाएर
बतासिन्छु र
पुग्छ परपरसम्म तिमीलाई खोज्दै खोज्दै
तिमीलाई नभेटेको झोँकमा
पछारिन्छु फर्केर
अनि यहि ढुङ्गालाई
पुज्छु विश्वासले
तिमीले पनि त पुजेका थियौ
विश्वासले यहि ढुङ्गा
त्यसैले त फर्कि आएनौ
गएपछि तिमी
तिमीले मलाई पाएको
जम्मा जम्मी विश्वासको एक
मुस्कान त हो तर तिमीले मलाई
एउटा सिङ्गो युग दिएर गयौ
त्यसपछि
प्रत्येक रात सपनामा
देख्छु तिमीलाई र
मेरो हर धड्कनमा
तिमी बाँचेको महसुस गर्छु
मेरो सिद्धिन बाँकी
जिन्दगीसँग साटी दिन्छु
तिम्रो अङ्गालो
अनि मुस्कुराई दिन्छु
जिवनका फूलहरु भिजाई दिन्छु
परेली खुसीले
उडाइ दिन्छु चङ्गा झै
रहरहरु माथी माथीसम्म
अचानक
मसँग टाढा हुन खोज्दैछ
मृत्यू चपाएर बाँचेको यो शरिर
म कामना गर्छु–
मेरो शरिर मसँग
छुटिएको रात पनि
सपनामा तिमीलाई देखुँ
अनि नर्विसी सोधुँ तिमीलाई
तिमीले मेरो प्रतिक्षा गरेर
बसेको देउरालीसम्म
पुग्ने बाटो ।
धरान
....