धनगढी/ नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यो सिजनको प्रधानमन्त्री कप टी-२० महिला  राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ पहिलो सातादेखि हुने भएको छ। 

प्रतियोगिता कैलालीको धनगढीस्थित फाप्ला मैदानमा माघ १ देखि १२ गतेसम्म हुनेछ। 

प्रतियोगितामा सात प्रदेश  र दुई विभागीय गरी नौ टोलीबीच भिडन्त हुनेछ। सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा भाग लिँदैछन्। 

प्रतियोगिताको पहिलो समूहमा लुम्बिनी, गण्डकी, कर्णाली, एपिएफ र सुदूरपश्चिम छन्। दोस्रो समूहमा कोशी, बागमती, मधेस र आर्मी रहेका छन्। 

दुवै टोलीका शीर्ष दुई टोली सुपर-४ मा पुग्नेछन्। सुपर-४ का शीर्ष दुई टोली फाइनलमा भिड्नेछन्। 

प्रतियोगिताको पहिलो दिनको पहिलो खेलमा सुदूरपश्चिम र गण्डकी तथा दोस्रो खेलमा कर्णाली र एपिएफ भिड्नेछन् ।

...........

Source : www.setopati.com