काठमाडौं । १७औं धर्मश्री शारीरिक सुगठन आगामी चैतमा हुने भएको छ । नेपाल व्यायाम मन्दिरले आइतबार पत्रकार सम्मेलन गर्दै १७औं धर्मश्री सँगै अन्य तीन विधा आगामी चैत ७ देखि ९ गतेसम्म कमलादीस्थित प्रज्ञा भवन कमलादीमा आयोजना हुने जानकारी गराएको हो ।
चैतको ७ गते वेइङ, चैत ८ गते प्र-जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक नेपाल व्यायाम मन्दिरले जनाएको छ ।
प्रतियोगिताको मुख्य विधा अर्थात पुरुष बडीबिल्डिङको रुपमा रहेको धर्मश्रीतर्फ ६०, ६५ , ७०, ७५, ८० र ८० वर्षमाथि गरी कूल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यसपछि हरेक तौल समूहको विजेताबीच ओभरअलमा फेरि प्रतिस्पर्धा गराइनेछ र त्यसमा विजेता नै धर्मश्रीको विजेता हुनेछ ।
धर्मश्रीसँगै मेन्स एथ्लेटिक्स फिजिक ओभर र मेन्स एथ्लेटिक्स फिजिक अन्डर वुमन्स बडीबिल्डिङ र ५० वर्षभन्दा माथिका खुल्ला मास्टर विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगतिमा ६०० भन्दा धेरै खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए ।
आयोजकले यस पटक नगद पुरस्कार राशीमा पनि वृद्धि गरेको छ । जसमा ओभरअल धर्मश्री विजेताले १२ लाख प्राप्त गर्नेछन् । १६औं संस्करणभन्दा यो २ लाखले बढी हो । यस्तै उपविजेताले ६ लाख तथा तेस्रोले ३ लाख पाउनेछन् । चौथोले २ लाख, पाँचौले १ लाख ८० हजार तथा छैटौंले १ लाख ५० हजार प्राप्त गर्नेछन् ।
यसैगरी प्रत्येक तौल समूहका उपविजेताले ५० हजार र तेस्रो हुनेले ४० हजार पाउनेछन् भने चौथोले ३० हजार, पाँचौले २० हजार र छैटौंले १५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै मेन्स एथ्लेटिक फिजिक्स ओभर र अन्डर तथा वुमन्स बडीबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख पाउनेछन् । तेस्रोले ७० हजार, चौथोले ५० हजार, पाँचौले ४० हजार तथा छैटौंले ३० हजार प्राप्त गर्नेछन् ।
५० वर्षभन्दा माथिका खुल्ला मास्टर विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार तथा छैटौंले १० हजार हात पार्नेछन् ।
यसपटक सबै विधाको शीर्ष ६ सम्म आउने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । १६औं संस्करणमा उमेश राईले धर्मश्री उपाधि जितेका थिए ।
मेन्स फिजिक्स प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको नाममा पिएल सिंह मेन्स फिजिक्स प्रतियोगिता नाम राखिएको छ । १७औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको छ ।
......
Source : Onlinekhabar.com