तपाईको अर्थमा पहिचान भनेको के हो ?
मलाई लाग्दछ, पहिचान शब्दावलीले मानव उत्पति, सभ्यता, कला संस्कृति र अस्तित्वसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । मानिसहरुको बिचार, दर्शन र ती सब मानकहरुलाई सम्बोधन गर्ने मापक हो पहिचान । राजनीतिक अर्थमा सिमान्तमा, उत्पीडनमा पारिएका मानिसहरूको न्याय र समानताको मुद्दा हो पहिचान । साहित्यमा पहिचान भनेको नेपाली समाजमै रहेका तर आजसम्म तिनको जीवन दर्शन, संस्कृतिलाई लेखन गर्न नसकिएको, नदिइएकोले तिनका पक्षमा लेख्ने साहित्य हो ।
नेपाली साहित्यमा पहिचान साहित्य लेखनको अवधारणालाई कसरी लिनुभएको छ ?
यो आवश्यकता हो । आकस्मिकता होइन । किनभने, एकल जाती, धर्म संस्कृती विचार दर्शन सोच्नेहरूले होच्याए अरूलाई । एकल सोच, दर्शन र परम्परावादीलाई मात्र सम्बोधन गरियो । नेपाली साहित्यमा पहिचान साहित्यको खाडललाई पुर्न सकिएन भने अबको दशकौं बर्षसम्म हामी अन्तर्राष्ट्रिय साहित्यमा उपस्थित हुन सक्दैनौ । त्यसैले पहिचान साहित्य आजको अनिवार्यता हो । यो रहर या सपना हैन ।
नेपालमा पहिचान साहित्य लेखनको आवश्यकता र औचित्यबारे तपाईको मत के छ ?
देवकोटाले लेखेको के नेपाल सानो छ ? पढुम्, पहाडी जीवन निबन्धमा जसरी झिल्टुङ आउछ । झिल्टुङ माथिको तामाङ, मगर झिल्टुङ मुनिका आर्य बुझुम् भै त हाल्यो पहिचानको लेखनको आवश्यकता । पहिचानको गलत परिभाषा नगरौं । यहाँ पहिचान भनेर मात्र जनजातिलाई नबुझौं । नेपालमा बसोबास गरेका हरेक नागरिकहरुको परिचयलाई बुझौं । नेपाली भाषा साहित्यले एकल परिभाषा, एकल सौन्दर्य शास्त्रलाई मात्र प्रतिनिधित्व ग¥यो । हामीलाई भ्रममा पारियो । ठुला ठुला आँखा, मिलेको दाँतका पंक्ति, सलक्क परेको नाक, गहुगोरो बर्ण आदिले नै सुन्दर हुनुको परिभाषा दिलायो । यो पूूर्णतया गलत हो । हरेक जाति, हरेक बर्ण र हरेक समुदायको स्विकृत अस्तित्वलाई समेट्नको लागि पहिचान साहित्य अनिवार्य शर्त हो ।
नेपाली साहित्यमा पहिचान साहित्य लेखनको वर्तमान अवस्था के कस्तो पाउनुहुन्छ ?
दह्रो र बाक्लो उपस्थीति छ । हिजो बैरागी काईला, भुपाल राई, श्रवण मुकारुङ र आहुतिसम्मका साहित्यकारहरुले पहिचान साहित्य लेखेकै हो । तर यसको क्रान्तिको रुपमा श्रृजनशील अराजकताका अभियन्ताहरु (राजन मुकारुङ, हाङयुग अज्ञात र उपेन्द्र सुब्बा) ले गरे । जनआन्दोलन भाग–२ पश्चात पहिचान साहित्यको चेतना र आकार फैलिएको छ । देशमा मात्र हैन डायस्पोरामा पनि यस्को डिकोर्स भईरहेको छ । यो अर्थमा अव पहिचान साहित्यलाई नेपाली साहित्यबाट झिकिदिने हो भने मुस्कान र आकृति बिहिन मानिस जस्तो हुनेछ । मैले त देखिरहेको छु, अबको एक दशक पछि हेर्ने हो भने अन्तर्राष्ट्रिय जगतमा नेपाली साहित्यको परिभाषा नै पहिचान साहित्य हुनेछ ।
पहिचान साहित्य लेखनले अपनाउनुपर्ने प्रवृत्ति र शैलीबारे तपाईको कुनै विशेष धारणा छ की ?
हामी विशेष यो देशका भुमिपुत्रहरूसँग आ–आफ्नै सभ्यताहरू छन् । तिनलाई इमान्दारिता पूर्वक लेख्नु पर्छ । हाम्रो मौलिक मिथकहरु छन् ती सबैलाई साहित्यमा लेखिनु पर्छ । राजन मुकारुङको ‘हेत्छाकुप्पा’ उपन्यास र उपेन्द्र शुब्बाको ‘लाटो पहाड’ कथा संग्रह पहिचान साहित्यका दस्तावेज हुन् । स्वर्गिय कवि अर्जुन खालिङको कविता संग्रह ‘गोयाङको सुगन्ध’ यो दशकै अब्बल पहिचान कविता संग्रह हो । म बिशेष गरेर कविता लेख्ने गर्छु । डेढ दशकदेखि खाडिमा कार्यरत छु । मैले लेख्ने कविताहरुमा खाडिको आदिम मिथक, सभ्यता, संस्कृति, जीवन शैली र दर्शनहरु नै हुने गर्छन् । यो पनि डायस्पोराको एक पहिचान नै हो । डायस्पोरामा कार्यरत आदिवासी, दलित, मुस्लिम, महिला र पिछडिएका बर्गहरुको प्रतिनिधीत्व कविताहरु लेख्ने गर्छु । किन भने मैले नेपालको कविता हैन नेपाल भन्दा बाहिर जहाँ म कार्यरत छु त्यहिको पहिचान लेख्न सके भने सफल हुनेछु । तथापी म कुनै दिन स्वदेश त फर्कन्छु नै । त्यो बेला म देशको पहिचान र यहाँको माटो लेख्नेछु ।
.............