धरान : बेलायती सैनिक सेनाका भूतपूर्व राजकुमार राईको उपन्यास ‘किवाहाङ’ लाहुरे जीवनको अनुभव मात्र नभएर आर्थिक, सामाजिक र सांस्कृतिक अनुभूति समेटिएको बायोग्राफी जस्तै रहेको समीक्षकहरूले बताएका छन् ।
धरान रिडर्स ग्रुपले आज शनिवार आयोजना गरेको विमर्शकी प्रमुख वक्ता डा.इन्दिरा मिश्रले भनिन् ‘किवाहाङ उपन्यास मात्र नभएर किवाहाङ पात्रको बायोग्राफी जस्तो पुस्तकको रूपमा पढ्न पाइन्छ ।’
उपन्यासमा काल्पनिक पात्रको परिवेश, परिस्थिति तथा संवादबाट धेरै कुरा अभिव्यक्त हुन्छन् । किवाहाङमा पात्रहरूको धेरै कुराको व्याख्या उपन्यासकारले गरेकोले उनको अनुभव र अनुभूति उपन्यासमा अभिव्यक्त भएको उनले बताइन् ।
किवाहाङमा गोर्खा भूपूहरूको आन्दोलनले उठाई रहेका कुराहरू समेटिएका छन् । त्यसले उपन्यासलाई गोर्खा लाहुरेहरूमाथि भएका अन्यायहरूको वर्णनात्मक पनि बनाएको छ । लाहुरे जीवनको अघि र पछिका जीवनको चित्रणमा सांस्कृतिक आर्थिक, सामाजिक र राजनीतिक दृष्टिकोण समेटिएको डा. मिश्रले बताइन् ।
उपप्राध्यापक राजेश विद्रोहीले एउटा लाहुरेले गोर्खा सैनिकको रूपमा भोगेका भोगाइहरूको दस्ताबेज भएको बताए । त्यसमा गार्खाहरुसंग गरिएको भेदभावका कुराहरू प्रकट गरिएको उनले बताए ।
औपन्याकिताबाट अघि बढेर व्याख्यात्मक टिप्पणी समेटिएकोले पाठकलाई उपन्यास पढ्दा पड्दै इतिहास पढेको जस्तो लाग्ने उनको टिप्पणी थियो ।
नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य भीष्म काफ्लेले पछिल्लो समय नेपाली साहित्यको क्षेत्रमा गोर्खा लाहुरेहरूले थालेको कदमले समृद्धि बढाउन ठुलो योगदान भइरहेको बताए । लाहुरे जीवनको कथा, पिडाका साहित्यमा किवाहाङ नयाँ इँटा थपिएको उनको भनाई थियो ।प्राडा.भोलानाथ पोखरेलको सभापतित्वमा भएको विमर्श कार्यक्रमको प्रमुख अतिथि कवि बम देवान थिए । घाँटीको समस्याका कारण उनले बोलेनन् ।
सहजीकरण पत्रकार भोजराज श्रेष्ठले गरेका थिए । विमर्शका सहभागीहरूको जिज्ञासामा समीक्षकव्दयले जवाफ दिएका थिए ।