धरान : पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा माघ १८ गते देखी ३ दिने राष्ट्रिय प्राविधिक महोत्सव हुने भएको छ । क्याम्पस र विद्यार्थीहरूको संस्था डेल्टाद्वारा आयोजना हुने महोत्सव यसपालि छैटौँ संस्करण हो ।
क्याम्पसको ७ फ्याकल्टीका विद्यार्थीको संस्था डेल्टा ५.० द्वारा बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त जारकारी दिएको हो । महोत्सव क्याम्पस परिसरमा माघ २० गते सम्म चल्नेछ ।
पत्रकार सम्मेलनमा डेल्टा ५ दशमलव ० ले टेक्नोलोजी फर एग्रीकल्चर एण्ड इनोभेसन थिम कृषिमा प्रविधिको नवीनताको प्रयोग सम्बन्धी अवधारणा सार्वजनिक गरेको छ ।
महोत्सवमा सोही अवधारणामा आधारित प्रविधिलाई मुख्य विषयवस्तुको रूपमा प्रस्तुत गरिने डेल्टाका संयोजक विवेक न्यौपानेले बताए । उनले भने ‘कृषिलाई प्रवर्द्धन गर्नु नै महोत्सवको मुख्य उद्देश्य हो ।’
मुख्य विषयवस्तु कृषिमा प्रविधिको नवीनतम प्रयोगका ५ वटा विषयवस्तुमा आधारित प्रविधिहरू एआई र स्वचालन, प्रविधिमा नवीनता, डिजिटल अर्थव्यवस्था, स्मार्ट शहरको परिकल्पना, ग्लोबल समस्या समाधानमा ईन्जिनीयरिङ रहने छन् ।
प्रविधिहरू प्रस्तुतीकरणले विश्वमा देखिएका समस्या र प्रविधिका कारण उत्पन्न समस्या विकृति र सहरीकरण हुँदै गएका क्षेत्रहरूका लागि उपयोगी र महत्त्वपूर्ण  हुने विश्वास गरिएको छ ।
महोत्सव आयोजनामा डेल्टा र क्याम्पस व्यवस्थापन तयारीमा लागेको सहायक क्याम्पस प्रमुख अनु श्रेष्ठले बताए । उनले डेल्टा ५.० को थिम रिलिज गर्दै क्याम्पसका विद्यार्थीहरू मेहनती र ऊर्जावान् रहेको उनीहरूले टेक्नोलोजीका प्रविधिहरू उत्पादन गरेको जानकारी दिए ।
सहायक क्याम्पस प्रमुख श्रेष्ठले भने ‘तर नेपाल सरकारको स्पष्ट कार्यविधि, नीति नभएका कारण विद्यार्थीहरूको प्रतिभा, क्षमताको सदुपयोग हुन सकेको छैन ।’ राज्यले बिद्यार्थीहरुलाई कार्यविधि बनाएर प्रविधि निर्माणमा लगानी गरे उनीहरूले बजारमा नयाँ आयाम ल्याउने उनको भनाई छ ।
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले अलैँचीको पुच्छर टिप्ने मेसिन र टमाटर ग्रेडिङ गर्ने मेसिन बनाएर बजारमा ल्याएका छन् । उनीहरूबाट उत्पादित प्रविधिलाई बजारीकरण गर्न र फिनिसिङ गर्न कामाख्य एग्रोले सहयोग पुर्याईरहेको छ । तर राज्य उदासीन भएको विद्यार्थीहरूको आरोप छ ।
स्वतन्त्र विद्यार्थी युनियन सभापति नवीन श्रेष्ठले इन्जिनियरिङका विद्यार्थीहरूलाई प्रयोगमा नल्याउनु सरकारको नीति विहीनताको उदाहरण भएको बताए । उनले भने ‘राज्यले इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरूलाई स्पष्ट नीति, कार्यविधि बनाएर प्रविधिको क्षेत्रमा उपयोग गर्न जरुरी छ ।’
क्याम्पसका विद्यार्थीहरूले फेवा लेक लगायतका लेकहरूमा फोहोर टिप्ने रोवर्ट बनाएको, तर राज्यले बजारीकरण र प्रवर्द्धन गर्न नगरेको उनले बताए । हाल रोवर्टबाट समस्या समाधान गर्ने मेसिन बनाउने तयारीमा रहे पनि लगानी नहुँदा राज्यको मुख ताकेर बसेको उनको भनाई थियो ।
महोत्सवमा नेपालका विश्वविद्यालयहरू, कोशी प्रदेशका विद्यालयहरू साथै प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीहरू विधागत प्रतिस्पर्धामा सहभागी हुने बताइएको छ । महोत्सव २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।