• कृष्ण बहादुर तामाङ

पत्रकारिता समाजको ऐना हो, जसले सत्यतथ्य प्रस्तुत गरेर नागरिकलाई सूचित राख्छ । लोकतन्त्रको आधारशिला मानिने पत्रकारिताले निष्पक्षता, सत्यता, र समाजप्रतिको उत्तरदायित्वलाई ध्यानमा राख्नुपर्छ । तर नेपालमा पछिल्ला वर्षहरूमा पत्रकारिता पित पक्षपाती बन्दै गएको देखिन्छ ।

सत्यतथ्य समाचारको स्थानमा अर्धसत्य, तोडमोड, र स्वार्थ प्रेरित सामग्रीले प्राथमिकता पाउन थालेको छ । यसले लोकतन्त्र, पारदर्शिता, र समाजको समुचित विकासमा अवरोध सिर्जना गरेको छ ।

पित पत्रकारिताको समस्या नेपालको मिडिया क्षेत्रको एक गम्भीर चुनौती हो । यसले पत्रकारिताको मूल उद्देश्य, जसले समाजमा सचेतना फैलाउन र सशक्तिकरण गर्नुपर्छ, त्यसलाई विकृत बनाउँदै छ । पित पत्रकारिताका पछाडि आर्थिक, राजनीतिक, र सामाजिक कारणहरू जिम्मेवार छन् ।

यस समस्याको पहिचान र समाधानका उपायहरू खोज्नु अहिलेको अत्यावश्यकता हो । यस लेखमा पित पत्रकारिताको कारणहरू, त्यसको प्रभाव, र यसलाई रोक्न आवश्यक छ ।

प्रमुख कारणहरू 

पित पत्रकारिताको कारणहरू विभिन्न आयाममा बाँडिएका छन्, जसले पत्रकारिताको स्वच्छता र विश्वसनीयतामा गम्भीर प्रभाव पारेको । नेपालमा पित पत्रकारिताको प्रमुख कारणहरू यस्तो देखिएका छन् ।

आर्थिक दबाब र विज्ञापनमुखी मिडिया : धेरै मिडिया हाउसहरू विज्ञापनमा निर्भर भएकाले व्यावसायिक घराना र ठूला निगमहरूले आर्थिक प्रभाव जमाउँछन् । पत्रकारितालाई नाफामुखी बनाउँदा सत्यतामाथि भन्दा आर्थिक लाभमा जोड दिइन्छ ।

राजनीतिक प्रभाव : राजनीतिक पार्टीहरू र नेताहरूले आफ्नो एजेन्डा प्रवर्द्धन गर्न मिडियालाई प्रभावमा पार्छन् । मिडियाले राजनीतिक लाभका लागि तथ्य तोडमोड गरी पक्षपाती समाचार प्रकाशित गर्ने प्रवृत्ति देखिन्छ ।

पत्रकारहरूको अस्थिर पेसागत अवस्था : कम तलब, अस्थायी जागिर, र श्रमको उचित सम्मानको अभावले पत्रकारहरू आर्थिक रूपमा कमजोर हुन्छन् । आर्थिक सङ्कटले उनीहरूलाई शक्तिशाली व्यक्तिहरूको दबाबमा काम गर्न बाध्य बनाउँछ ।

नैतिकता र जिम्मेवारीको कमी : पत्रकारितामा आवश्यक नैतिकता, पेसागत इमानदारी, र जिम्मेवारीको कमी देखिन्छ । केही पत्रकारहरूले व्यक्तिगत फाइदाका लागि समाचारलाई तोडमोड गर्ने र अफवाह फैलाउने काम गर्छन् ।

सोसल मिडियाको प्रभाव : सोसल मिडियामा झूटो समाचार, हल्ला र पूर्वाग्रही सामग्री तीव्र गतिमा फैलिन्छ । पारम्परिक मिडियाले पनि प्रतिस्पर्धामा बस्न तथ्य जाँच नगरी सामग्री प्रकाशन गर्ने प्रवृत्ति बढाएको छ ।

समाजमा साक्षरता र चेतनाको कमी नागरिकहरूले समाचारमा निहित सत्यता र उद्देश्यबारे गहिरो सोच नगर्दा पित पत्रकारितालाई अप्रत्यक्ष रूपमा प्रोत्साहन मिल्छ । स्रोत र तथ्यको सत्यापन गर्नुपर्ने मान्यता कमजोर छ ।

मालिकहरूको हस्तक्षेप : धेरै मिडिया हाउसहरू राजनीतिक दल, व्यावसायिक घराना, वा विशेष स्वार्थ समूहद्वारा सञ्चालित छन् । मालिकहरूको स्वार्थअनुसार समाचारको प्रस्तुति हुने गर्दछ ।

प्रतिस्पर्धात्मक दबाब : समाचार चाँडो प्रकाशित गर्ने होडले सत्यता र स्रोत जाँच्न समय दिन सकिँदैन । लोकप्रियता पाउनका लागि उत्तेजक र सनसनीखेज सामग्री प्राथमिकतामा राखिन्छ ।

कानुनी र नियामक कमजोरी : मिडिया क्षेत्रमा स्पष्ट कानुनी संरचना र नियमनको अभाव छ । पित पत्रकारिताको अभ्यासलाई नियन्त्रण गर्न सरकारी निकायहरू प्रभावकारी देखिएका छैनन् ।

विश्वासनियतामा क्षति : पित पत्रकारिताको कारणले मिडियाको विश्वसनीयता गुम्छ । नागरिकले मिडियालाई निष्पक्ष र सत्यता दिने माध्यमको रूपमा हेर्न छाड्छन् । मिडियालाई राजनीतिक एजेन्डा प्रवर्द्धन गर्न प्रयोग गर्दा जनताको ध्यान मुख्य मुद्दाहरूबाट हटाइन्छ । नीतिगत बहसलाई बेवास्ता गर्दै व्यक्तित्व माथि मात्र केन्द्रित गरिन्छ ।

ठूला व्यावसायिक घराना र शक्तिशाली व्यक्तिहरूको पक्षमा समाचार प्रस्तुत गर्दा आर्थिक असमानता झन् गहिरो हुन्छ । कमजोर वर्गको आवाज दबाइन्छ ।

पत्रकारितामा नैतिकता र सत्यताका मान्यताहरू कमजोर हुँदा समाजमा गलत प्रवृत्तिको प्रवर्द्धन हुन्छ । व्यक्तिगत स्वार्थमा आधारित समाचारले समाजमा नकारात्मक प्रभाव पार्छ ।

नागरिकको सुसूचित हुने क्षमता घटाउँछ : नागरिकले गलत सूचना पाएपछि उचित निर्णय गर्न सक्दैनन् । चुनाव जस्ता महत्त्वपूर्ण प्रक्रियामा गलत सूचनाको आधारमा निर्णय गर्दा दीर्घकालीन क्षति पुग्छ । योग्य र इमानदार पत्रकारहरू पित पत्रकारिताको बढ्दो प्रवृत्तिबाट हतोत्साहित हुन्छन् । उनीहरूले यो पेसा छोड्ने वा अन्य विकल्प खोज्ने सम्भावना बढ्छ ।

अन्याय र दमनको कुरा उठाउनुको सट्टा पित पत्रकारिताले शक्तिशाली समूहको मात्र पक्षपोषण गर्छ । यो प्रवृत्तिले समाजका कमजोर वर्गहरूको अवस्था झन् कठिन बनाउँछ । पित पत्रकारिताको प्रभाव केवल मिडिया क्षेत्रमै सीमित छैन । यसले समाजको हरेक तहमा नकारात्मक असर पार्छ । यस्तो प्रवृत्तिलाई रोक्न सचेत नागरिक, सक्षम पत्रकार, र सशक्त कानुनी संरचनाको आवश्यकता छ ।

निष्कर्ष

यी कारणहरूले पित पत्रकारिताको समस्या गहिरो बनाएको छ । आर्थिक, राजनीतिक, र सामाजिक संरचनामा सुधार नगरेसम्म पत्रकारिताको निष्पक्षता कायम गर्न गाह्रो हुनेछ । पित पत्रकारिताका प्रभाव समाज, लोकतन्त्र र पत्रकारितामा गहिरो असर पार्दछ ।

नेपालमा पित पत्रकारिताको प्रभाव गहिरो र दीर्घकालीन छ । यसले समाज, लोकतन्त्र, र पत्रकारिताको क्षेत्रलाई विभिन्न तरिकाले असर पुर्‍याइरहेको छ ।

यसबाट सत्यतथ्य सूचना प्राप्त गर्न नसक्दा समाजमा भ्रम फैलिन्छ । गलत समाचार वा तोडमोड गरिएको जानकारीले समाजमा अविश्वास र ध्रुवीकरण बढाउँछ । पत्रकारिताले नागरिकलाई सही सूचना दिन नसक्दा लोकतन्त्र कमजोर हुन्छ । पारदर्शिताको अभावले शक्तिमा रहेका व्यक्तिहरूले दुरुपयोग गर्न सहज हुन्छ ।

सुधारका उपायहरू 

पित पत्रकारिताको वृद्धि रोक्नका लागि धेरै तहमा सुधार र पहल आवश्यक छ । पत्रकारहरूको आर्थिक सुरक्षा सुनिश्चित हुनुपर्छ । उचित तलब र सामाजिक सुरक्षामा पत्रकारहरूको पेसागत स्थिरता कायम गर्न मिडिया संस्थाहरूले उचित पारिश्रमिक र सुविधा प्रदान गर्नुपर्छ ।

स्वतन्त्र कोषको स्थापना गरी स्वतन्त्र पत्रकारितालाई प्रोत्साहन गर्न स्वतन्त्र पत्रकार कोष स्थापना गरी आर्थिक सहयोग प्रदान गर्न सकिन्छ । नैतिकता र पेसागत इमानदारी पत्रकारिता शिक्षामा सत्यता, निष्पक्षता, र नैतिकताका सिद्धान्तहरूमा जोड दिनुपर्छ ।

तथ्य जाँच तालिम जरुरी छ । तथ्य जाँच्ने र स्रोतको सत्यापन गर्ने सीपमा सुधार गर्न पत्रकारहरूलाई नियमित तालिम दिनुपर्छ । राजनीतिक प्रभावमुक्त मिडियाका संस्थाहरूलाई राजनीतिक र आर्थिक दबाबबाट मुक्त गर्न स्वतन्त्र संरचना बनाउनुपर्छ ।

साझेदारी र सहकारी मोडेल मिडिया संस्थाहरूलाई सहकारी मोडेलमा सञ्चालन गरी पारदर्शिता र निष्पक्षता कायम गर्न सकिन्छ ।

सरकार र नियामक निकायहरूले मिडियामा पित पत्रकारितालाई नियन्त्रण गर्न स्पष्ट नीति लागू गर्नुपर्छ । गलत समाचार फैलाउने र स्वार्थ प्रेरित सामग्री प्रकाशन गर्ने मिडियामाथि कडा सजाय तोकिनुपर्छ । तथ्य जाँच प्लेटफर्मबाट सोसल मिडियामा फैलिने अफवाह र झूटा समाचार नियन्त्रण गर्न तथ्य जाँच प्रणाली विकास गर्नुपर्छ ।

नागरिक शिक्षाको प्रवर्द्धन गरी नागरिकहरूलाई सोसल मिडियामा आउने सामग्रीको सत्यता जाँच्ने तरिका सिकाउनुपर्छ ।