इटहरी : गत भदौमा सनातन हिन्दु धर्मको रक्षाको लागि भन्दै इटहरीमा प्रदर्शन भयो । धरानबाट सुरु भएको गोपाल मन्दिर र चर्चको विवादले उग्ररुप लिएपछि आन्दोलन चर्कियो । धरानलाई निषेधित क्षेत्र घोषणा गरियो । विभिन्न धर्मगुरुहरू सहभागी आन्दोलनले हिन्दु राज्यको माग गर्‍यो । हिन्दु राज्यको माग सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज शनिवार इटहरीमा विरोध सभा आयोजना गर्‍यो ।

पुरातनवादी धारको नेतृत्व गरेको राप्रपा केही मौलिक र केही मौखिक मुद्दाहरू अगाडी सारेको छ । राजसंस्था सहितको हिन्दु राज्य कायम गर्नुपर्ने राप्रपाको मुद्दा कायमै छ । त्यस बाहेक सुन्दा रमाइलो लाग्ने तर संसदीय व्यवस्थाले नदिएको प्रत्यक्ष निर्वाचित कार्यकारीको नयाँ एजेन्डा राप्रपाले लिएको हो । यसअघि नेकपा माओवादी केन्द्रले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयलाई राप्रपाले अनुसरण मात्र गरेन विरोध प्रदर्शनको मुख्य मुद्दा बनायो । 

वर्तमान व्यवस्थामाथि प्रश्न उठाउँदै गणतन्त्रको अन्त्य गर्नुपर्ने माग राखेको राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारीको अभ्यासमा भने जान सकिने बताएको छ । विद्रोहको चेतावनी दिँदै जनतामा विद्रोही मानसिकता विकास गर्न विरोध सुरु गरेको जनाएको छ । 

पुरातनवादी दल राप्रपाले विद्रोहको प्रगतिशील खेमामा प्रवेश गरेको झल्को दिएको छ । राप्रपा नेता रामकुमार सुब्बाले मञ्चबाटै भने, ‘गौतम बुद्धको विद्रोह पनि विद्रोह हो । महात्मा गान्धिक विद्रोह पनि कम छैन । विरोध पछि विद्रोह अवश्य हुन्छ । राप्रपाले विरोध सुरु गरेको छ अब विद्रोह जन्माउँछ । राप्रपाको विद्रोह कसैलाई क्षति नहुने गरी हैन जनताको मानसिकता विद्रोही भावना विकास गराउने गरी हुनेछ ।’

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले एउटा मात्र निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिले देशको नेतृत्व गर्न नहुने सम्मको अभिव्यक्ति दिए । सबै जनताको मतबाट निर्वाचित प्रतिनिधिले मात्र देशलाई न्याय गर्न सक्ने उनको भनाइ थियो । त्यही बिचमा देश जर्जर बन्दै गएको, भ्रष्टाचार मैलाएको, युवाहरू पलायन भएको लगायत विषय उनले छुटाएनन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले यो व्यवस्थाकै कारण देशमा समस्या बढेको भाष्य निर्माण गर्न खोजे । जनताको अवस्था बदल्न व्यवस्था बाधक रहेको उनको भनाइ थियो । ठुला दलहरूले मन्दिरमा गएर भ्रष्टाचार नगरेको भन्न नसक्ने  उनका अभिव्यक्तिले राप्रपा कार्यकर्ता उत्तेजित बने । कार्यकर्ताको तालीमा हौसिएका उनले थप उत्साहित हुँदै भने, ‘अर्बौँ रुपैयाँ बैकमा थुप्रिएको छ तर ऋण लिन कोही पनि तयार छैनन् । देश बरबाद भएको छ । देश असफल भइसक्यो । देशले यो भन्दा बढी बरबादी थेग्न सक्दैन ।’

अर्का नेता डाक्टर प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक प्रणाली प्रतिको प्रेम दर्साए । वर्तमान सरकारले प्रजातन्त्रको नाममा प्रजातन्त्र नै मास्ने काम गरेको उनको आरोप छ । उदारवादी अर्थ प्रणालीको सुरुवात गरेका लोहनीले वैदेशिक रोजगारी र सरकारी उद्योग बन्द भएको विषयमा आलोचना गरे । पूर्व अर्थमन्त्री समेत रहेका उनले यो व्यवस्थाले जनतामा निराशा मात्र दिएको बताए । 

महामन्त्री प्रल्हाद शाहले राप्रपाको विरोध पूर्व देखि  पश्चिम सम्म फैलिने बताए । अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तन जरुरी रहेको बताउँदै उनले देश असफल भइसकेको उद्घोष गरे । देशमा रोजगारीको अवस्था नभएको जनतामा आशा मरेको र भ्रष्टाचार मौलाएको उनको टिप्पणी छ ।

राप्रपाले हिन्दु राज्यको मुद्दा फलिफाप नभएपछि जनतामाझ खपत हुने एजेन्डालाई प्राथमिकताका साथ राखेको छ । त्यसको ज्वलन्त उदाहरण हालका प्रवक्ता शाही हुन् । जसले लोकप्रियताको आडमा लामो विरासत भएको पार्टीको प्रवक्ता र सङ्घीय सांसद बन्ने सौभाग्य पाए ।

raprapa-birod-12