इटहरी : इटहरी उपमहानगरपालिकाको १४२ औँ कार्यपालिका बैठक समापन नभई १४३ औँ बैठक सुरु भएको छ । स्थगित भएकै बैठकको निरन्तरता हुनुपर्ने कार्यपालिका सदस्यको माग बेवास्ता गर्दै नगर प्रमुख हेमकर्ण पौडेलले १४३ औँ बैठक सुरुवात गरेका हुन् ।
गत असोज ११ गते शुक्रवार राती १० बजेसम्म चलेको १४२औँ बैठक एक साताका लागि स्थगित भएको थियो । स्थगित भएको सोही बैठक सुरु गर्नुपर्ने भए पनि पछि १३ हप्तापछि नयाँ बैठक बसेको हो । बैठकको सुरुवातमै पुरानै बैठकको निरन्तरताको विषयमा चर्काचर्की भएको थियो ।
गत असोजको बैठकमा शान्ति सृजना माध्यमिक विद्यालयका प्रधानाध्यापकले ८० लाख अपचलन गरेको सम्बन्धमा २ घण्टासम्म छलफल भए पनि निर्णय हुन सकेन । प्रधानाध्यापक कमल तिम्सीनाले ८० लाख अपचलन गरेको र उनीमाथि कारबाही हुनुपर्ने कार्यपालिका सदस्यको माग सम्बोधन नभएपछि बैठक स्थगित भएको थियो ।
थप तयारी गर्नुपर्ने र अन्य एजेन्डामा पनि तयारीका साथ आउन कार्यपालिका सदस्यलाई मेयर पौडेलले आग्रह गरेका थिए । प्रधानाध्यापकको पद निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा मेयर पौडेल र एमाले सम्बद्ध कार्यपालिका सदस्य बिच मत बाझिएपछि निर्णय हुन सकेको थिएन ।
शुक्रवारको कार्यपालिका बैठक अगावै शिक्षा तथा खेलकुद शाखाबाट प्रधानाध्यापकको जिम्मेवारी बाट हटाएको पत्र सार्वजनिक भयो । कार्यपालिकामा उठेको विषयमा निर्णय नभई शाखाबाट पत्राचार हुनुले कार्यपालिका अपहेलित भएको सदस्यहरूले बताए । पछि शिक्षा समितिबाट टुङ्गो लगाउने सहमति सहित १५ मिनेटको लागि बैठक स्थगित भयो ।
१४२ औँ कार्यपालिकाको निर्णय सदस्यले नपाएको भन्दै विवाद भयो तर २ लाख घुस मागेको विषयमा भने छलफल नै भएन । पकली माविका व्यवस्थापन समिति अध्यक्ष विनोद झाले शिक्षक सरुवामा दुई लाख घुस मागेका थिए । कपुरी न्युजले घुस मागेको अडियो सार्वजनिक गरेपछि सार्वजनिक वृत्तमा आलोचना भएको थियो ।
वडा शिक्षा समितिले कारबाही गरे पनि लामो समय उपमहानगरपालिका मैन रह्यो । विवाद बढ्दै गएपछि उपमहानगरपालिकाको शिक्षा शाखाले थप काम कारबाही नगर्न सचेत गराउँदै पत्र पठायो । तर प्रत्यक्ष घुस मागेको प्रमाण हुँदाहुँदै पनि उपमहानगरपालिकाको कार्यपालिका बैठकमा छलफल समेत भएन ।