झापा : कोशी प्रदेशको पूर्वी नाका नेपाल-भारत सिमाना स्थित मेचीनगरमा पर्यटकहरूका लागि पाँच तारे होटेल ‘अश्वत्थ’ अङ्ग्रेजी नयाँ वर्ष देखी सञ्चालनमा आउँदै छ ।
मेचीनगर-७ काँकडभिट्टाबाट ४ किलोमिटर पश्चिम स्थित इटाभट्टामा होटेल ‘अश्वत्थ’ सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले सञ्चालनमा ल्याएका हुन । उनका अनुसार होटेलमा १ अर्ब ३० करोड लगानी भएको छ ।
भारतीय तथा तेस्रो मुलुकका पर्यटकहरूलाई लक्ष्यीत गरी नयाँ होटेल अङ्ग्रेजी नयाँ वर्ष २०२५ जनवरी १ तदनुसार पुस १७ गते देखी सञ्चालनमा आउने छ ।
होटेल अश्वत्थ २ बिघा क्षेत्रफलमा बनेको छ । मेचीनगर-८ मा अर्को पाँचतारे होटेल मेची क्राउन सञ्चालनमा छ । बिर्तामोडमा पाँचतारे होटेल किङ्सबेरी सञ्चालनमा छ । उक्त होटेल सहित झापामा पर्यटकीय तारे होटेलको सङ्ख्या ३ पुगेको छ ।
होटेल अश्वत्थले पर्यटकहरूका लागि अनलाइन बुकिङ खुला गरेको छ । होटेलमा ८४ वटा स्वीट्स र डिलक्स कोठा भएको प्रमुख व्यवस्थापक कुमार कोइरालाले बताए ।
होटेलमा इन्डोर स्वीमिङ पुल, जाकुजी, स्पा, ब्याङ्केट हल, ध्यान र योग साधनाको सुविधा उपलब्ध छ । उनका अनुसार क्यासिनो समेत होटेलमा सञ्चालन हुने भएको छ ।
एसियाका ३२ मुलुकलाई स्थल मार्गबाट जोड्ने एसियाली राजमार्गको निर्माण तीव्र गतिमा भइरहेकोले नेपालको पूर्वी नाका मेचीनगरमा पर्यटकीय चहल पहल बढ्ने भएकाले पाँचतारे होटेलमा लगानी गरेको सञ्चालक प्रज्ज्वल घिमिरे बताए ।
नेपालको काँकडभिट्टा नजिक भारतको बागडूग्रा विमानस्थलबाट भारतका मुख्य सहरमा दैनिक ४० उडान भइरहेको छ । रात्रिकालीन सञ्चालन क्षमता भएको चन्द्रगढी विमानस्थलबाट मेचीनगर ३० किलोमिटर मात्र दुरीमा रहेकाले बाह्य र आन्तरिक पर्यटकीय गन्तव्य बनेको उनको भनाई छ ।
सञ्चालक घिमिरेका अनुसार भारतीय, भुटानी र बङ्गलादेशी पर्यटकलाई लक्षित गरी होटेल स्थापना गरिएको हो । इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंककबाट पर्यटक नेपाल घुम्न एसियन हाइवे हुँदै नेपालमा सजिलै आइपुग्ने सम्भावना बढेकोले होटेलमा लगानी आकर्षित भएको उनले बताए ।
नेपाल-भारत सिमानाबाट ५ किलोमिटरमा काँकडभिट्टा, इटाभट्टा र धुलाबारी बजार पर्दछ । इटाभट्टाको पाँचतारे अश्वत्थ र मेची क्राउनमा क्यासिनो समेतको सुविधा छ । काँकडभिट्टाका अरू दुई पर्यटकीय होटेलमा मिनी क्यासिनो चलिरहेका छन् ।
अश्वत्थ सहित मेचीनगरमा क्यासिनोको सङ्ख्या ४ पुगेको छ । मेचीनगर-१० धुलाबारीमा थप एक पाँचतारे होटेल निर्माणाधीन अवस्थामा छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बिर्तामोडमा थप एउटा पाँचतारे होटेलको निर्माण गरिरहेका छन् ।
भारतको गोवा र सिक्किममा मात्र क्यासिनो सञ्चालन हुने भएकाले भारतीय धनाढ्य नेपालका क्यासिना आउने गरेका छन् । क्यासिनो सञ्चालनले होटेल व्यवसायलाई प्रवर्द्धन गर्दै आएको छ ।
होटेल अश्वत्थले प्रारम्भमा ५५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । पर्यटकका लागि हिमाली क्षेत्रको दृश्यावलोकन गराउन माउन्टेन फ्लाइट समेतको व्यवस्था होटेलले मिलाएको प्रमुख व्यवस्थापक कोइरालाले बताए ।
उनका अनुसार भारतको आसाम, दिल्ली र पश्चिम बङ्गालका पर्यटकले होटेलको बुकिङ गर्न थालेका छन् ।