उर्लाबारी : महेन्द्र राजमार्ग अन्तर्गत उर्लाबारी-३ मङ्गलवारे सडक खण्डमा शुक्रवार बिहान यात्रुवाहक बसको ठक्करबाट साइकलमा सवार एक पुरुषको मृत्यु भएको छ ।
बिहान करिब ६:३० बजे उर्लाबारी-३ बक्राहा पुल छेउमा पश्चिम पथरीबाट पूर्व उर्लाबारीतर्फ आउँदै गरेको प्र १-०१-००१ख ४१३६ नम्बरको यात्रुवाहक मकालु बसले उर्लाबारी-४ बस्ने ६६ वर्षीय निर बहादुर लिम्बुलाई ठक्कर दिई दुर्घटना भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बुको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा बिहान करिब ७:१० बजे मृत्यु भएको उर्लाबारी प्रहरी प्रमुख प्रहरी निरीक्षक राकेश यादवले बताए ।
यता प्रहरीले बससहित बसका चालक झापा जिल्लास्थित हाल्दिबारी ३ बस्ने ३० वर्षीय चालक पदम गौतमलाई तत्काल नियन्त्रणमा लिइएको जनाएको छ। उनी विरुद्ध सवारी ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।
यसैबिच उनको परिवार र आफन्तले विभिन्न माग राख्दै दिउसो करिब १५ मिनेट एकतर्फी सडक अवरुद्ध गरेको प्रहरी निरीक्षक यादवले बताए । यस्तै मृतकको परिवारले यातायात व्यवसायी सम्पर्कमा नआएसँगै लिम्बुको शव बुझ्न नमानेको प्रहरी निरीक्षक यादवले बताए ।
त्यस्तै गरी उनीहरूको माग पुरा गर्ने सहमति भएसँगै राजमार्गको अवरोध खोलिएको प्रहरी निरीक्षक यादवले बताए ।
यसैबिच उर्लाबारी वडा नम्बर ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीले मृतकको परिवार र यातायात व्यवसायीबिचको वार्ता सफल भएको बताएका छन्।