इटहरी : शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा प्रवाहमा कोशी प्रदेश सरकार असफल भएको आरोप लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशले विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।
कोशी प्रदेश कार्यसमितिका अध्यक्ष रामकुमार थापाले प्रदेश सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै पुस १३ गते इटहरीमा वृहत् विरोध सभा आयोजना गर्ने जानकारी दिए ।
पत्रकार सम्मेलनमा अध्यक्ष थापाले प्रदेश सरकारको खारेजी, स्थानीय स्वायत्त शासन प्रणालीको अधिकार पुनर्स्थापना, धार्मिक स्वतन्त्रता, र सनातन वैदिक हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउने बताउँदै, सहकारी पीडितहरूको विषयलाई पनि विरोध सभामा समेट्ने जानकारी गराए ।
उनले विरोध सभामा सहभागीहरूको ठुलो उपस्थिति हुने विश्वास व्यक्त गर्दै सभा केवल सरकारको आलोचना गर्ने माध्यम मात्र नभई सामाजिक र धार्मिक अधिकारहरूको पक्षमा स्पष्ट धारणा प्रस्तुत गर्ने स्थल हुने बताए ।
राप्रपाले धार्मिक स्वतन्त्रताको सुनिश्चितता र सनातन वैदिक हिन्दु राष्ट्रको पक्षमा दृढता देखाउँदै विरोध सभामा विशेष ध्यान दिने योजना बनाएको स्पष्ट पारेको छ।