इटहरी : घर भरी भिडभाड छ । तर सन्नाटा छाएको छ । मान्छेको ओहोरदोहोर चलिरहेकै छ । कोही कसैसँग बोल्दैनन् । एक अर्काको अनुहार हेरी रहन्छन् । त्यसैको बिचमा एक महिला सेतो कपडा लगाएर सुती रहेकी छिन् । सुकेका ओठ र सुन्निएका हातखुट्टा हेर्दा उनी सिकिस्त बिरामी जस्तै देखिन्छन् ।
सिकुवाको एक कुनामा सेतो कपडा लगाएका एक बालक घोप्टी रहेका छन् । सबैले उनैतिर हेरेर दयाको भाव प्रकट गरी रहेका छन् । दुई बालीका ढोकामै अडेस लागेर बसेका छन् । दुवैका आँखा सुन्निएका जस्ता देखिन्छन् । फेरी पनि आँसु भुँइमा झर्न नपाओस् भनी दुवै हात आँखा नजिकै राखी रहेका छन् ।
इटहरी ४ बंगैचा टोलको एक छाप्रोमा मङ्गलवार दिउँसो यस्तै देखियो । भर्खरै पानी परेर चिसो भएको सिकुवा ओभाउन पाएको थिएन । त्यही चिसोमाथि प्लास्टिकको गुन्द्रीमा अर्ध चेत थिइन् लल्की चौधरी । भर्खरै श्रीमानको दाहसंस्कार गरेर आएकी उनमा बस्न सक्ने तागत पनि थिएन । उनका वरिपरि रहेका आफन्तहरू केही बोल्न सक्ने अवस्थामा थिएनन् ।
गत पुष देखी सुगरको रोगी थिए लल्कीका श्रीमान् सुखरीया चौधरी । हुन त लल्की आफै सुगर रोगी हुन । ३ वर्ष देखी नियमित औषधि सेवन गरी रहेकी छिन् उनी । सुखरीयालाई भने गत पौष देखी मात्र सुगरको लक्षण देखिएको थियो ।
सोमबार बिहान लल्की र उनका श्रीमान् घरैमा थिए । लल्कीले पैसा अभावकै कारण उपचार गर्न नसकेको बताएकी थिइन् । सुगरको औषधि खाँदै काममा जान्थे सुखरीया । गत चैतमा उनी सिकिस्त बिरामी भए । इटहरी मेडिकलमा १० हजार खर्च गरेर जाँच गराए । पछि एमआरआई गर्नुपर्छ भनेपछि उनीहरू आत्तिए ।
‘त्यो १० हजार पनि मैले समूहमा बचत गरेको पैसा बाट ऋण लिएको हो ।,’ लल्कीले सोमबार भनेकी थिइन्, ‘अहिले दुवै किड्नी फेल भयो भनेका छन् । विराटनगरको अस्पतालमा लैजानुपर्छ रे । पैसा छैन कसरी लानु र !’
विराटनगर लैजाने पैसा नभएकै कारण उनी अहिले सेतो कपडामा बसेकी छिन् । लकडाउनमा ऋण काढ्ने कुनै ठाउँ नभेटेर पनि थप समस्या भएको उनले सुनाएकी थिइन् ।
सुक्रीया पहिला रिक्सा चलाउने काम गर्थे । पछि सिटी सफारी आएपछि पाइडल वाला रिक्सा बन्द भयो । त्यसपछि उनी घर बनाउने साइडको काम गर्न थाले । लल्की पनि अरूको घर सफा गर्ने काम गर्थिन् । तर कोरोना संक्रमण फैलिए सँगै उनको रोजीरोटी पनि खोसिएको थियो । त्यहीँ बेला बचत गरेको पैसाले सुखरीयाको रोग पत्ता लाग्यो । तर उपचार हुन भने सकेन ।
जेठी छोरी बाहिर पसलमा काम गर्थिन् । छोरीकै कमाइले परिवार चल्दै आएको थियो । तर पछिल्लो समय छोरीको पनि कमाई गर्ने बाटो बन्द भयो । उपमहानगरले दिएको राहत उनको परिवारमा काम लाग्ने भएन । उसीनाको चामल खाने उनको परिवारमा पैसाकै खाँचो थियो ।
दुई छोरी र एक छोराका बाबु सुखरीयाले ४२ वर्षको अल्पायुमै मृत्युवरण गर्नुपर्यो । उपचार गर्ने पैसाकै अभावमा बाबु गुमाउँनु परेको पिडा अर्कै छ । ठुला कङ्क्रिटका घरहरू भएको ठाउँमा एउटा सानो झुप्रोमा उनीहरू डेरामा बस्छन् । मासिक २ हजार भाडा तिर्नुपर्छ । तर छोरीको कमाई बन्द भएपछी भाडा तिर्न समेत समस्या भएका सुनाउँछिन् लल्की चौधरी ।
केही दिन अगाडी इटहरी उपमहानगरले ७ हजार रुपैयाँ दिएको थियो । त्यही रकमले चामल दाल लगायत सामान किनेको उनले बताइन् । खान लाउनै समस्या हुने लल्कीलाई श्रीमानको किरिया उतार्न अर्को समस्या परेको छ ।
सुखरीयाका दाजु फागु चौधरी पनि पैसा नभएरै भाइको मृत्यु भएको स्विकार्छन् । आफूसँग पनि पर्याप्त पैसा नभएको कारण उपचारमा सहयोग गर्न नसकेको उनको भनाई छ । काठ मिस्त्रीको काम गर्ने फागु लकडाउनको कारण काम बन्द भएपछि आफूले सहयोग गर्न नसकेको बताउँछन् ।
किरिया खर्चकै अभाव भएपछि टोलवासीले ३५ हजार रुपैयाँ नगद सहयोग गरेको बगैँचा टोल बिकास समितिका अध्यक्ष सुनिल कार्कीले बताए । परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको थाहा पाएपछि आफूहरूले सहयोग रकम जुटाएको उनको भनाइ छ ।