धरान : मङ्सिर १६ गते भएको उपनिर्वाचनमा सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा १ को अध्यक्षमा निर्वाचित धिरेन्द्रकुमार साहलाई पदभार ग्रहण गरे लगत्तै प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले साहलाई वडा कार्यालयमा आयोजित पदस्थापन कार्यक्रमको मञ्चबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाए अनुसार उनलाई एक किशोरीको हत्या र उनको भाइलाई अपहरण गरेको आरोपमा पक्राउ गरिएको हो ।
वडाध्यक्ष साह जनता समाजवादी पार्टीबाट विजयी भएका थिए । अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको साहलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ । प्रहरीले घटनासम्बन्धी थप विवरण सार्वजनिक गरिएको छैन ।